इटहरी/ अवैध रुपमा गर्भपतन गराएको अभियोगमा इटहरीस्थित पशुपति हस्पिटलका सञ्चालक सहित संलग्न चिकित्सक र एक महिलालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । पुशपति हस्पिटलका सञ्चालक पशुपति चौधरी र अवैध रुपमा गर्भपतन गराउने डा. बालकृष्ण शाह र गर्भपतन गराउन सुनसरी खनारकी एक महिलालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले बताए । उनका अनुसार पशुपति हस्पिटल इटहरीमा आइतबार ती महिलाले गर्भपतन गराएकी थिइन् । गर्भपतन गराउँदा गराउँदै समस्या भए पछि उनलाई थप उपचारको लागि धरानस्थित वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । ती महिला गर्भपतन गराउने क्रममा थप विरामी भए पछि घटना बाहिर आएको हो । डिएसपी सुवेदीले पक्राउ परेकाहरुमाथि मुद्धा दर्ता गरी म्याद थप गरिएको बताए । महिलाको अवस्था ठीक भए पछि प्रहरीले नियन्त्रणमा लिएको पनि प्रहरीको भनाई छ । सोमबार जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख मुकुन्दराज गौतम, जिल्ला जन स्वास्थ्य कार्यालय सुनसरीका अनुगमन संयोजक भूनन्दन शाह, कार्यालयका नासु नेत्रप्रसाद खतिवडा, प्राथमिक स्वास्थ्य केन्द्र इटहरीका हेल्थ असिस्टेन्ट रामकुमार धमला लगायतको टोलीले हस्पिटलमा अनुगमन समेत गरेको छ । पशुपति हस्पिटलले सुरक्षित गर्भपतनको लागि निवेदन दिए पनि स्वीकृति नलिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख मुकुन्दराज गौतामले बताए । उनका अनुसार सुनसरीमा १५ वटा स्वास्थ्य संस्थाले मात्रै सुरक्षित गर्भपतनको स्वीकृति पाएका छन् । इटहरीमा नेपाल परिवार नियोजन संघ, प्राथमिक स्वास्थ्य केन्द्र इटहरी र मेरी स्टोभ सेन्टरले मात्रै सुरक्षित गर्भपतनको स्वीकृति पाएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुगमन संयोजक भूनन्दन शाहले बताए । सुरक्षित गर्भपतन गराउन स्वीकृति प्राप्त संस्थाबाट १२ महिनासम्मको गर्भपतन गराउँदा शुल्क समेत नलाग्ने व्यवस्था छ । त्यसको लागि संस्थाले स्वीकृति लिनु पर्ने, सम्वन्धित स्वास्थ्य कर्मीले स्वीकृति लिनु पर्ने र मापदण्ड पुरा गर्नु पर्ने व्यवस्था रहेको पनि शाहले बताए । स्वीकृति लिनका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत परिवार स्वास्थ्य महाशाखाबाट स्वीकृति लिनु पर्ने हुन्छ । सुनसरीमा गत वैशाख १५ गते पनि सुरक्षित गर्भपतन सेवा सम्वन्धी औषधी व्यववसायी, नीजी क्लिनिकका प्रतिनिधीबीच प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको उपस्थितीमा व्यवस्थित गर्ने विषयमा ५ बुँदे प्रतिवद्धता गरिएको थियो । केही समय अघि इटहरीमा स्वीकृति नलिएको एक स्वास्थ्य संस्थाबाट गर्भपतन गराउँदा इटहरी–२ कि एक महिलाको मृत्यू भएको थियो ।