विजयपुर/ धरानमा एमालेले अाफ्नाे इतिहास कायम राखेको छ । स्थानीय तहको निर्वाचनमा एमालेले धरान उपमहानगरपालिकामा मेयर र उपमेयरसहित १४ वटा वडामा जित हासिल गरेको छ । निर्वाचन अधिकृतको कार्यालयले सोमबार राति धरानको मेयरमा एमालेका तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारी सुवेदीलाई विजयी घोषणा गरेको हो ।
मेयरका उम्मेदवार सुब्बा २० हजार ९ सय ७५ मत ल्याएर विजयी भएका छन् भने उपमेयरकी उम्मेदवार भण्डारीले २१ हजार २ सय ५६ मत ल्याएर जित हासिल गरेकी छन् । मेयरका निकटतम् प्रतिद्वन्द्वी काङ्ग्रेसका तिलक राईले १६ हजार १ सय २ मत प्राप्त गरेका छन् भने उपमेयरकी निकटतम् प्रतिद्वन्द्वी काङ्ग्रेसकै श्यामा रेग्मीले १४ हजार ९ सय १७ मत प्राप्त गरेकी छन् । विभिन्न नौवटा दलसँग गठबन्धन गरेको माओवादी केन्द्रले भने धरानमा तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ ।
नौ दलीय गठबन्धनका तर्पmबाट माओवादी केन्द्रका मेयरका उम्मेदवार अइन्द्रविक्रम बेघाले ११ हजार १ सय ८० मत प्राप्त गरे भने गठबन्धनबाट उपमेयरका उम्मेदवार सङ्घीय समाजवादी फोरमका पारस काङमाङ राईले ५ हजार १ सय ८१ मत प्राप्त गरेका छन् । असार १५ गते साँझ शुरु भएको मतगणना १२ दिनपछि सोमबार साँझ सकिएको हो । धरानमा एमालेले १४ वटा वडामा प्यानल नै जित हासिल गरेको छ भने काङ्ग्रेसले ५ वटा वडामा प्यानल नै जितेको छ । माओवादी केन्द्र भने धरान–१७ मा मात्र प्यानल नै जित्न सफल भएको छ । अब गठन हुने नगर सभामा एमालेको बहुमत पुग्ने भएको छ । अधिकार सम्पन्न स्थानीय सरकारका रूपमा गठन गरिएको स्थानीय तहको निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछिको पहिलो निर्वाचन पनि हो । ‘यो जित धराने जनताको हो’ मेयरमा निर्वाचित सुब्बाले यो जित समग्र धराने जनताको भएको धारणा व्यक्त गरेका छन् । सोमबार राति निर्वाचन आयोगले विजयी घोषणा गरेपछि उनले अाफ्नाे जितले समग्र धरानका जनताको जित भएको प्रतिक्रिया दिए । निर्वाचनअघि अाफुले गरेका प्रतिबद्धताहरु पूरा गर्न सबै पक्षको सहयोग लिएर अगाडि बढ्नेसमेत उनले बताए । धरान अाफैमा ऐतिहासिक शहर भएकोले यसको गरिमालाई कायम राख्दै धरानको विकास र समृद्धिका लागि अाफुले काम गर्ने प्रतिबद्धता उनले जनाए ।
आपूmले प्रतिबद्धता जनाएको सुकुम्बासीका समस्या समाधान गर्ने विषय, बहुजातीय सङ्ग्रहालय निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, पर्यटनजस्ता क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनले बताए । धरानको खानेपानी समस्यालाई तत्काल समाधान गर्न काम थाल्ने उनको भनाइ छ । निकटतम् प्रतिद्वन्द्वी काङ्ग्रेसका राईले धरानको विकास र समृद्धिका लागि रचनात्मक सहयोग गर्ने बताए । आपूmले नेतृत्व लिन नसके पनि धरानको विकास र समृद्धिका लागि सधैँ रचनात्मक सहयोग गर्ने प्रतिक्रिया उनले दिए । माओवादी केन्द्रका बेघाले जनताले दिएको मतलाई सम्मान गर्दै जनताका माझमा गएर विकास र समृद्धिका योजनाका लागि काम गर्ने बताए । निर्वाचित जनप्रतिनिधिले आपूmहरूको आवश्यकता महसुस गरे सकारात्मक कामका लागि सधैँ रचनात्मक सहयोग गर्न तयार रहेको उनको भनाइ छ । ‘अब हामी सङ्गठन निर्माणको कार्यलाई पनि जोड दिन्छौँ, गलत कामको सधैँ विरोध गर्छौं ।’ उनले भने ।