धरान/ स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकामा एमालेले शानदार जित हात पार्दै गर्दा गठबन्धन गरेर चुनाव लडेका २ दललाई भने घाटा भएको छ ।
माओवादी केन्द्र र संघीय समाजवादी फोरमलाई मतसंख्याको आधारमा नाफा भन्दा घाटा भएको हो । संघीय समाजवादी फोरमबाट उपमेयर उम्मेदवार पारस राईले माओवादीबाट मेयर उम्मेदवार अइन्द्र बिक्रम बेघाभन्दा ५ हजार ९९९ मत कम पाएका छन् ।
माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले ११ हजार १८० मत ल्याए जबकी गठबन्धनमा उपमेयर बनेका संघीय समाजवादी फोरमका पारस राईले ५ हजार १८१ मत मात्र ल्याए । अर्थात् धरानमा माओवादी समर्थकले नै गठबन्धन जोडिएको संघीय समाजवादीलाई भोट पत्याएनन् । माओवादीले उपमेयरमा नो भोट सिद्धान्त लागु गरेको देखिन्छ । यसबाट दुवै पार्टीलाई घाटा भएको छ ।
संघीय समाजवादीलाई घाटा संघीय समाजवादी पार्टीका उपमेयर उम्मेदवारलाई स्वभाविक घाटा देखिन्छ । उनलाई माओवादी केन्द्रकै मतदाताले भोट दिएनन् । माओवादी केन्द्रका समर्थकहरुले उम्मेदवार नै नभएको हसियाँ हतौडामा भोट दिएर संघीय समाजवादीका उपमेयरलाई अस्वीकार गरेका छन् ।त्यसैले धरानमा मेयरको लागि ४९ हजार १६० भोट खस्दा उपमेयरको लागि जम्मा ४४ हजार भोट मात्र खस्यो । यो मतको प्याटर्नले व्यक्ति प्रभावशाली नहुँदा एउटा पार्टी समर्थकले अर्को पार्टीका नेतालाई नपत्याएको देखिन्छ ।
माओवादी केन्द्रलाई घाटा माओवादी केन्द्रका समर्थकहरुले उपमेयरमा राईलाई ‘हातले समातेको मसाल’ चुनाव चिन्हमा भोट दिएनन् । बरु उनीहरुले ‘हसिया हतौडा’मै भोट लगाइदिए । यसबाट माओवादी केन्द्रलाई ६ हजार मतअन्तरले घाटा भयो ।
यदि माओवादी केन्द्रले संघीय समाजवादीसँग गठबन्धन नै नगरी आफ्नै उम्मेदवार उठाएको थियो भने पनि संघीय समाजवादीभन्दा बढी भोट ल्याउने अंकगणितले देखाउँछ । किनकी राईले ५ हजार मत ल्याउँदा मेयरको भन्दा ६ हजार मत गुमाए, त्यो माओवादी केन्द्रका समर्थकको भोट हुन सक्छ । तर गठबन्धन नहुँदा बेघाले त्यती धेरै मत ल्याउने सम्भावना पनि कम देखिन्छ ।
एमालेलाई काँग्रेस–माओवादीको भोट एमालेकी भण्डारीले काँग्रेस र माओवादीका भोटसमेत बटुलेकी छिन् । राजनीतिक लगाव र असल स्वभावका कारण उनले मेयरले भन्दा राम्रो मत प्राप्त गरिन् ।
मेयरमा एमालेका तारा सुब्बाले चार हजार ८७३ मत अन्तरले काँग्रेसका तिलक राईलाई हराउँदै गर्दा उपमेयरमा एमालेकी मञ्जु भण्डारी काँग्रेसकी श्यामा रेग्मीभन्दा छ हजार ३३९ मतले अघि रहीन् ।
यो तथ्यांकले उपमेयर भण्डारीले आफ्नै पार्टीका मेयर सुब्बाभन्दा एक हजार ४६६ मत बढी लोकप्रिय मत प्राप्त गरेको देखाउँछ । जबकी उता काँग्रेसमा ठिक उल्टो छ । काँग्रेसकी उपमेयर उम्मेदवार रेग्मीले आफ्नै पार्टीका मेयर उम्मेदवार राईभन्दा १ हजार १८५ मत कम ल्याइन् । यो मतमध्ये केही भण्डारीलाई गएको छ ।
जनजातिको मुड बुझ्न असक्षम धरानको यो नतिजाले राई, लिम्बुको बाहुल्यता रहेको धरानमा जनजाति हक अधिकारको कुरा गर्ने पार्टी र संगठनलाई नै नपत्याएको देखिन्छ । जातिय भावना उरालेर मत र मन जित्न खोज्ने दल वा उम्मेदवारहरु पराजित भएको विश्लेषण गरिएको छ ।
बरु काँग्रेस र एमालेले नै बढी मत ल्याएका छन् । जातीय राजनीतिक पृष्ठभूमीबाट अघि आएको संघीय समाजवादी फोरमलाई माओवादी केन्द्रकै मतदाताले त रुचाएनन् । यसले पूर्वको जनजाति शहर धरानमा जनजातिहरुको मुड बुझ्न संघीय समाजवादी फोरम र माओवादीले नसकेको पुष्टि हुन्छ ।
न्यूजलयबाट