राजविराज/ लगातार परेको वर्षाको कारण सप्तरी राजविराज नगरपालिको केही स्थानमा पानीले जलमग्न छ । घर भित्र पानी पसेपछि राजविराज १० कमलपुरका ५० घर परिवार नजिकैको रेडक्रसमा बासोबास गर्दै आएका छन् ।

बाढी पीडितहरुले विभिन्न संघसंस्था र स्थानिय प्रशासनले जटाइदिएको राहतले दैनिकी गुजार गर्दै आएका छन् । यसै बीच सप्तरीका बाढी पीडित परिवारलाई राजविराजमा नेकपा एमालेका केन्द्रिय नेताहरुको उपस्थितीमा राहत वितरण गरेको छ ।

नेकपा एमाले सप्तरीको पार्टी कार्यालयमा आयोजित राहत वितरण कार्यक्रममा राजविराज नगरपालिका क्षेत्रका बाढी पीडित १ हजार १ सय ५५ परिवारलाई एमालेले राहत सामग्री वितरण गरेको हो ।

बाढी पीडित प्रति परिवारलाई त्रिपाल १, झुल १, मेट्रेस ५ किलो चामल र लत्ताकपडा राहत सामाग्री वितरण गरिएको अखिल नेपाल ट्रड यूनियन माहासंघ (जिफन्ट) एक नम्बर प्रदेशको महासचिब किशोर धमालले जानकारी दिए । उनका अनुसार जिफन्टले मात्र डबल बेटको म्याट एक हजार बाढी पीडित परिवार पुग्ने दिएको बताए । त्यस्तै नेकपा एमाले, युवा संघ नेपाल, अनेरास्ववियुले पनि राहत सामाग्री विरतण गर्यो ।

नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् प्रदेश नं. २ का संयोजक सत्यनारायण मण्डल, सहसंयोजक नागेन्द्र चौधरी, पोलिटब्युरो सदस्य रामपृत पासमान, केन्द्रीय सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल, अनेरास्ववियुका केन्द्रीय अध्यक्ष नविना लामा, जिफन्टका एक नम्बर प्रदेश महासचिब किशोर धमला, एमाले जिल्ला अध्यक्ष गोविन्द न्यौपाने, युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहाडी, एमालेका तर्फबाट राजविराज नगरपालिकाका मेयरका उम्मेदवार सुखराम यादव, उपमेयरका उम्मेदवार ममता चौधरी, समाजसेवी अजीत ठाकुर लगायतले बाढी पीडितहरुलाई राहत सामाग्री वितरण गरे ।

स्थानीय प्रशासनबाट प्राप्त बाढी पीडितहरुको सूचीको आधारमा नगर क्षेत्रका १ हजार १ सय ५५ जनालाई राहत सामाग्री वितरण गरिएको बताइएको छ । दोस्रो चरणमा जिल्लाको ग्रामीण क्षेत्रका बाढी पीडितहरुलाई राहत वितरण गरिने भएको छ ।

अनिल श्रेष्ठ