रङ्गेली/ विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण तथा पदवाहाली गरेका छन् । सथप ग्रहण पश्चात पदभार ग्रहण गर्दै प्रमुख भिम पराजुलिले विभिन्न चार निर्णय समेत गरे ।
विराटनगरको वीरेन्द्र सभागृहमा नगरका नवनिर्वाचित प्रमुख भिम पराजुली तथा उपप्रमुख इन्दिरा कार्कीसहित वडाध्यक्ष र सदस्यहरुले मंगलबार सपथ ग्रहण गरेका हुन् ।
महानगरका प्रमुख र उपप्रमुख तथा वडाध्यक्षहरुलाई मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले र सदस्यहरुलाई प्रमुख भिम पराजुलीले सपथ गराएका थिए । मुख्य निर्वाचन अधिकृतले पहिले प्रमुख तथा उपप्रमुखलाई र त्यसपछि वडाध्यक्षलाई सामूहिक रुपमा सपथ गराए ।
आफूले सपथ गरेपछि प्रमुख पराजुलीले १९ वटै वडाका सदस्यहरुलाई सामूहिक रुपमा सपथ गराए ।कार्यक्रममा पूर्वमन्त्री तथा सांसद मिनेन्द्र रिजाल, सांसद पुष्कर आचार्य, राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरकारी निकायका अधिकारीको उपस्थिति थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य दिँदै नवनिर्वाचित प्रमुख पराजुलीले विराटनगरमा अहिले देखिएको हिलो र धूलोको समस्या १ सय दिनभित्रमा समाधान गर्ने प्रतिबद्धता जाहेर गरे । यस्तै उपमेयर इन्दीरा कार्कीले महिलाहरुको समस्या समाधानका लागि र हिंसा परेका महिलालाई न्याय दिने गरी काम गर्ने बताइन् ।
प्रमुख पराजुलीले पदभार ग्रहण गरेसँगै विभिन्न ४ निर्णय समेत गरे । पराजुलीका पहिलो निर्णयमा १ सय दिनमा नगरपालिकाको डुवान र फोहोरमैलाको समस्यालाई कम गर्न अभियानका रुपमा नाला सरसफाई गराउने एवं सडकमा भएका खाल्डाखुल्डी पुरी जनतालाई राहत पुर्याउने रहेको छ ।
दोस्रो निर्णयमा तीन वर्षभित्रमा विराटनगरका सबै सडक कालोपत्रे गरिसक्ने उल्लेख छ । यस्तै तेस्रो निर्णयमा विराटनगरलाई मोतियाबिन्दु (रतन्धो) उन्मूलन गर्ने उल्लेछ । चौथो निर्णयमा घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याउने रहेको छ ।