विजयपुर/रोटरी क्लब अफ धरान घोपा र रोटर्याक्ट क्लब अफ धरान घोपाले साउन महिना भरि धरानको पिण्डेश्वर मन्दिर क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर राख्ने भएको छ । धरान स्थित पिण्डेश्वर मन्दिरमा जल चडाउन आउने भक्तजनहरुलाई लक्षित गरेर स्वास्थ्य शिविर राख्न लागिएको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
विगत ११ वर्ष देखि रोटरी क्लब तथा रोटर्याक्ट क्लबले बोलबमका बेला निःशुल्क स्वास्थ्य परीक्षण राख्दै आएको छ ।गत वर्षको स्वास्थ्य शिविरमा ९ सय जना भक्तजनको स्वास्थ्य सेवा दिइएको रोटर्याक्ट क्लब अफ धरान घोपाका स्वास्थ्य सेवा निर्देशक कृष्ण घिमिरेले बताए ।विगतको भन्दा ब्यबबस्थित रूपमा स्वास्थ्य शिविरलाई सञ्चालन गर्ने सोच रहेको क्लबकी उपाध्यक्ष सुस्मिता उप्रेतीले जानकारी दिइन ।क्लबकी जनसम्पर्क प्रमुख तुलसा कार्कीले स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षणका साथै औषधी वितरण,सर्जिकल ड्रेसिङ,टिटी खोप तथा एम्बुलेन्स सेवा उपलब्ध गराइने बताइन ।
शिविरमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दक्ष चिकित्सक र नर्सहरुको सहभागिता रहने क्लबका सचिव कृष्णचन्द्र मण्डलले जानकारी दिए ।स्वास्थ्य शिविर साउन महिनाको आइतबार र सोमबार रहने स्वास्थ्य शिविरकी संयोजक इन्दिरा बस्नेतले जानकारी दिइन् । उनका अनुसार साउन १ र २ गते,८ र ९ गते,२२ र २३ ,२९ र २० गते पिण्डेश्वर मन्दिर परिशरमा स्वास्थ्य शिविर राखिने छ । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष अनुज तुम्बाहाम्फे,डा विजय खनाल लगायतको उपस्थिति रहेको थियो ।