कायरो । साउदी अरबले राजधानी रियादस्थित विमानस्थलमा भएको घातक हुथी आक्रमण रोक्न आफ्नो हवाई रक्षा प्रणाली किन असफल भयो भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ। इरान समर्थित यमनका हुथी विद्रोहीले प्रहार गरेका क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी घाइते भएको क्षेत्रीय अधिकारीहरूले सोमबार बताएका छन्।

सार्वजनिक रूपमा टिप्पणी गर्ने अधिकार नभएकाले नाम नखुलाउने सर्तमा बोलेका दुई क्षेत्रीय अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानले हुथी विद्रोहीले सुरुमा धेरै ड्रोन प्रहार गरी त्यसपछि क्रुज र ब्यालिस्टिक क्षेप्यास्त्रमार्फत रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरेको देखाएको छ।

हुथी विद्रोहीसँग ब्यालिस्टिक क्षेप्यास्त्र तथा उडानकै क्रममा आफ्नो दिशा परिवर्तन गर्न सक्ने उन्नत प्रणाली जडित हतियार रहेको बताइएको छ। यस्ता हतियारले साउदी अरबले प्रयोग गर्दै आएको प्याट्रियटल लगायतका हवाई रक्षा प्रणालीलाई चुनौती दिन सक्छन्।

अनुसन्धानले एक हजार किलोमिटरभन्दा बढी दूरी पार गरेर रियाद पुगेका क्षेप्यास्त्र र ड्रोनबारे साउदी हवाई रक्षा प्रणालीले किन समयमै पूर्वचेतावनी दिन सकेन भन्ने विषय पनि खोतल्ने अधिकारीहरूले बताएका छन्।

गत सातादेखि साउदी अरबका विभिन्न विमानस्थललाई लक्षित गरी भइरहेका हुथी आक्रमणमध्ये पछिल्लो घटनाले देशको हवाई रक्षा प्रणालीमा रहेका कमजोरी उजागर गरेको छ। साथै, सात महिनाभन्दा लामो समयअघि अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेपछि विस्तार हुँदै गएको मध्यपूर्वको द्वन्द्व थप जोखिमपूर्ण मोडमा पुगेको संकेत गरेको छ।

साउदी नेतृत्वको गठबन्धनले सोमबार रियादतर्फ प्रहार गरिएका ब्यालिस्टिक क्षेप्यास्त्रका दुई समूहलाई अवरोध गरी नष्ट गरेको जनाएको छ। सोमबार राति राजधानीमा कम्तीमा तीनवटा विस्फोटको आवाज सुनिएको थियो। त्यसपछि नागरिक सुरक्षा अधिकारीहरूले तत्कालका लागि खतरा टरेको बताएका थिए।

हुथी विद्रोहीले सोमबार किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएको दाबी गरेका छन्। उनीहरूले मुस्लिम धर्मावलम्बीका पवित्र सहर मक्का र मदिनाबाहेक साउदी अरबका अन्य सबै विमानस्थल असुरक्षित रहेको भन्दै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई चेतावनीसमेत दिएका छन्। रासस / एपी