धरान/ शुल्क ७० प्रतिशत बृद्धि गरेको विरोधमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानको धरानस्थित आगिंक क्याम्पसका दुई विद्यार्थी संगठन आन्दोलित बनेको छ । नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी विद्यार्थी संगठनका दुई विद्यार्थीहरुले पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको प्रशासनमा आमरण अनसन बसेका छन् । नेविसंघका उपसभापति सरोज अधिकारी र अखिलका कृष्णराज न्यौपाने आमरण अनसन बसेका हुन् । परीक्षा भदौं १ गतेदेखि सुरु हुँदै छ । संस्थानको परीक्षा नियन्त्रण महाशाखाले एकसाता अघि आगिंक क्याम्पसहरुमा परीक्षा सुल्क बढेको बारे पत्राचार गरेको थियो । विद्यार्थीहरुले उक्त जानकारी पाए लगत्तै चार दिन अघिबाट पहिलो चरणको आन्दोलन थालेको बताउँछन् । पहिलो चरणमा क्याम्पस प्रशासनमा तालाबन्दीलगायत कार्यक्रम गरेका थिए । तर, विद्यार्थीहरुको अध्ययन अध्यापनमा बाधा पुग्ने भन्दै बिहीबार ताला खोल्दै उनीहरु आमरण अनसन बसेको उपाध्यक्ष न्यौपानेले बताए । परीक्षा नजिक आइसकेपछि एकैपटक ५१० रुपैयाबाट ९३५ रुपैया पु¥याएको विरोधमा आन्दोलनमा उत्रिएको उनले बताए । ‘परीक्षा शुल्क त वार्षिक रुपमा नियमित रुपमा बढ्थ्यो । तर, यो चाही अनियमित रुपमा बढाएको छ ।’ अनसनरत न्यौपानेले भने । उनीहरुले बिहीबार अपरान्ह २ बजेदेखि आन्दोलन सुरु गरेका हुन् । परीक्षा शुल्क नघटाएसम्म अनसन नतोडिने उनीहरुले बताएका छन् । त्रिविले चैत्र ११ गते परीक्षा शुल्क बढाउने बारेमा निर्णय गरेको भए पनि एकसाता अघि मात्रै महाशाखाले क्याम्पसहरुमा पत्राचार गरेर जानकारी गराएको हो । संस्थान अन्तर्गत देशभर चारवटा आंगिक क्याम्पस छन् । उनले शुल्क वृद्धि तुरुन्त फिर्ता गर्नु पर्ने र धरानको इन्जिनियरिङ क्याम्पससँग जोडेर आन्दोलन थालेका हुन् । उनीहरुले क्याम्पसको आर्थिक कारोबार तूरुन्त सार्वजनिक गर्नुपर्ने, क्याम्पस परिषरमा रहेका अव्यवस्थित झाडी तथा रुखहरुलाई व्यवस्थित गर्नुपर्ने र सौचालय साथै खानेपानीको उचित व्यवस्थापन गर्नु पर्ने माग राखेका हुन् । हाल आगिंक क्याम्पसहरुमा शुल्क विरोधमा आन्दोलन चर्किएको छ । संस्थान अन्तर्गतको डिन कार्यालयमा पनि तालाबन्दी भएको उपाध्यक्ष न्यौपानेले बताए । विद्यार्थीहरुले अनियमित रुपमा बढाइएको शुल्क नघटेसम्म आन्दोलन यथावत रहने बताएका छन् ।