इटहरी । इटहरी उपमहानगरपालिकाको फोहोर सफाइको जिम्मा लिएको इन्भारो केयर प्रालिले फोहोर सफाइमा गरेको लापरवाही प्रति इटहरीवासी रुष्ठ भएका छन् । फोहोर सफा नगर्ने तर पैसा मात्र माग्ने कम्पनिप्रति आक्रोश सामाजिक सञ्जालदेखि फोहोर उठाउन खटिने सफाइ मजदुरसम्मले सामना गरिरहेका छन् ।

केही समयअघि कामै नगरी उपमहानगरपालिकासँग आठ करोड रुपैया क्षतीपूर्ती मागेर विवादमा आएको कम्पनिले फोहोर उठाउन पटक पटक लापरवाही गर्ने गरेको छ । तर पैसा भने जबरजस्ती लिने गरेको छ । आठ करोड मागेर केही साता इटहरीको फोहोर उठाउन बन्द गरेको कम्पनि उपमहानगरपालिकासँग वार्तामा बसेको थियो । त्यसबिचमा उपमहानगरपालिका आफैले इटहरीको फोहोर उठाएको थियो ।

यस बिचमा न्यूजलयले कम्पनिका माग र कार्य प्रवृत्ती गलत रहेको भन्दै समाचार सम्प्रेषण गरेको थियो । समाचार प्रभावका कारण वार्तामा आठ करोडको रुपैया त निस्केन, तर कम्पनिको रकम उठाउन उपमहानगरपालिकाले सहयोग गर्ने लगायतका सहमती भयो ।

तर कम्पनिले फोहोर उठाउन भने लापरवाही गरिरहेकै छ । आजित भएर सर्वसाधारणले फेसबुकमा समेत लेखिरहेका छन् । इटहरीका बिद्रोही दमन धादिङ्गेले फेसबुकमा लेखेका छन्, ‘इन्भारो केयर नामक फोहोर उठाउने संस्था कस्तो रहेछ, फोहोर उठाउन नआउने, पैसा चै लिन आउने ।’

३ वर्षदेखि फोहोर उठाउन थालेको कम्पनिले तीन वर्ष फोहोर उठाउन नआएको, तर पैसा भने एकैपटक मागेको गुनासोसमेत इटहरीका व्यापारीहरुले गरेका छन् । गत वैशाखमा एकै पटक तीन वर्षको पैसा तिर्नुपरेको व्यापारीको गुनासो छ । ‘त्यस बिचमा कहिल्यै न फोहोर उठाउन आए, न पैसा मागे,’ इटहरीका एक व्यापारीले भने, ‘अस्ती आएर तीन वर्षको पैसा दिने भए देऊ नत्र फोहोरै उठाउँदिन भनेर धम्की दिए ।’ बाध्य भएर पैसा दिनुपरेको उनले बताए ।

इटहरीको फोहोर व्यवस्थापनको जिम्मा इन्भारो केयरले लिएको छ । कम्पनिको ५ वर्षे सम्झौता २०७५ असोजमा सकिँदैछ । कम्पनिले उपमहानगरपालिका कार्यालयसँग आफैले गरेका धेरैजसो सम्झौता उल्लंघन गर्दै आएको छ । उपमहानगरपालिकाले मासिक २२ लाख कमाउने योजना इन्भारोकेयरलाई दिएको थियो ।