धरान/पूर्वाञ्चल ज्ञानचक्षुकी प्रअ केशरी थापाको राजिनामा माग गर्दै पुनः शिक्षकहरु आन्दोलित बनेका छन् । असार २३ गते गरेको सहमति भंग गरेको भन्दै शिक्षकहरु पुनः आन्दोनलमा उत्रिनु परेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै ६ जना शिक्षकहरुले पुनः थापाको राजिनामाको माग गरे । शिक्षक प्रकाश कार्कीले पत्रकार सम्मेलनमा भने, ‘असार २३ गते गरेको सहमतिलाई असार २९ गते स्टाफ मिटिङ नडाकि विद्यालय व्यवस्थापन समितिको बैठक राखियो । र, शिक्षक तुलसी तिम्सिनालाई स्पष्टिकरण सोध्ने काम गरेकाले आन्दोनलमा उत्रिनु परेको हो ।’ उनीहरुले प्रअ थापाको राजिनामा वा काज फिर्ता हुनु पर्ने एकसुत्रीय माग राखेका छन् । असार २३ गते गरेको सहमति प्रअ थापाले उल्लघंन गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको अर्का शिक्षक विद्या शाक्यले बताइन् । उनका अनुसार प्रअ थापाले स्टाफ मिटिङ नबसाई विव्यासको बैठक राख्दै २० बुँदे प्रस्ताव लगेर असार २३ गते गरेको सहमति उल्लघन गरेको थिइन् । शिक्षकहरुले साउन ८ गतेबाट प्रअलाई कार्याकक्ष प्रवेश निषेध तथा तालाबन्दी गर्दै साउन १० गतेदेखि रिले अनसन जारी राखेको बताएका छन् । आन्दोलनमा शिक्षक डोल्मा योञ्जन, शुशिला थापा, विद्या शाक्य, सीतादेवी कार्की, प्रकाश कार्की र तुलसी तिम्सिना रहेका छन् । यस विषयमा प्रतिक्रिया लिनको लागि प्रअ थापालाई उनको मोबाइल नम्बरमा सम्पर्क गर्दा फोन लागे पनि उठेन ।