इटहरी/ आफूहरुले राखेका माग पुरा नभएको भन्दै राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनले इटहरीस्थित जनता बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । मागका विषयमा क्याम्पस प्रशासनले वेवस्ता गरेको भन्दै सोमबार सो संगठनले तालाबन्दी राप्रविसंघ जनता बहुमुखी क्याम्पस पूर्व इकाइ अध्यक्ष विकल रेग्मीले बताए ।
संघले गत साउन ११ गते १३ बुँदे माग राख्दै केही दिन अघि क्याम्पस प्रशासनलाई माग पुरा गराउन दबाब दिएको थियो । कलेजको शौचालयमा साबुन र पानी सम्म नराखिएको, बिद्यार्थीलाई शुद्ध खानेपानीको व्यवस्था, गुणस्तरीय शिक्षा, उत्तरदायी कलेज प्रशासन र समग्र शिक्षा क्षेत्रको बिकास आँफुहरुको एजेन्डा रहेको र अबको बिद्यार्थी आन्दोलन यसैमा जाने संगठनले जनाएको छ । क्याम्पस प्रमुख भोजराज श्रेष्ठले भने विद्यार्थी संगठनले राखेका मागका विषयमा छलफल गर्ने वातावरण हुँदा हुँदै तालाबन्दी गरिएको बताए ।
‘राखिएका माग सबै प्रकृयामै छन्’ क्याम्पस प्रमुख श्रेष्ठले भने ‘छलफलका लागि पत्र समेत पठाएको अवस्थामा तालाबन्दी भएको छ ।’ यता सो विद्यार्थी संगठनले भने मागको विषयमा कुनै सुनुवाई नगरेको र प्रकृया समेत नगरेका कारण तालाबन्दी गर्नु परेको जनाएको छ ।