शनिश्चरे/सृजनात्मक गतिविधिमा पछिल्लो समय देशमा चिनिन थालेको मोरङको उर्लाबारीमा १९ वर्षसम्ममा युवतीहरुको प्रतिभा प्रष्फुटन गराउने उद्धेश्यले आयोजित ‘मिस टीन उर्लाबारी’को उपाधि नेरुमा थापाले जितेकी छन् ।अल राउण्ड डान्स सेन्टर उर्लाबारीको संयोजनमा झापाको दमकस्थित शंकर आर्ट फाउन्डेशन्ले आयोजना गरेको प्रतियोगिताको शनिबार राती सम्पन्न फाइनल प्रतिष्पर्धाबाट नेरुमाले २५ हजार नगद सहित उपाधि हात पारेकी हुन् ।

प्रतियोगितामा कमला लिम्बू फष्ट रनरअप र गरिमा लामा सेकेन्ड रनरअप बनिन् । उनीहरुले क्रमशः २० हजार र १५ हजार नगद सहित उपाधि प्राप्त गरेका छन् ।मिस टिन दमक २०१७ की मीस टीन नूमा नेम्वाङ सहितले विजेताहरुलाई नगद र क्राउन प्रदान गरेका छन् । विजेतालाई मिस टीन पूर्वाञ्चलमा सहभागि गराइने छ ।

२३ जनाबीचको फाइनल प्रतिष्पर्धामा उत्कृष्ठ ११ र उत्कृष्ठ ६ हुँदै कडा प्रतिष्पर्धाबीच विजेता छानिएको थियो । पत्रकार तथा कलाकार भूपेन्द्र तिम्सिना, काठमाडौंकी कोरियोग्राफर टीना गुरुङ, व्यूटि इभेन्ट वितमोडकी पूजा लिम्बू, इटहरीका नृत्य कोरियोग्राफर देव खड्का र विराटचोकका राजु बस्नेत त्यसको निर्णायक रहेका थिए ।

निर्णायक मध्येका तिम्सिनाले ‘यदि तपाई मिस टीन उर्लाबारी बन्नु भयो भनें यहाँका टीनएजर्सका लागि के गर्न सक्नु हुन्छ ?’ भन्ने प्रश्नमा ६ प्रतिष्पर्धीको तार्किक रहेको कडा प्रतिष्पर्धात्मक जवाफका साथ नेरुमा सहित उत्कृष्ठ ३ मा पर्न सफल भएका थिए । संयोग पनि कस्तो भनें नेरुमाको प्रतियोगि नम्बर पनि एक थियो र गम्भीरतापूर्वक निर्धक्क प्रस्तुति दिने उनले अन्ततः आफुलाई पहिलोस्थानमा ल्याउन सफल भइन् ।

गत असार ३ मा सम्पन्न मिस टिन दमक बन्न सफल नूमाका साथै फष्ट रनरअप निसना सेढाइ, सेकेन्ड रनरअप शिल्पा दुलाललाई सोही कार्यक्रममा क्रमशः २० हजार, १५ हजार र १० हजारको पुरस्कार वितरण गरिएको छ ।शंकर विश्वकर्माको परिकल्पनामा सम्पन्न कार्यक्रममा नेपाल साँस्कृतिक संस्थानका राजेश थापा, उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो सहित समाजका अगुवाहरुको उपस्थिती थियो । त्यहाँ चमेरा नृत्य, माझी नृत्य, संगीनी नृत्य सहितका आकर्षक प्रस्तुतिहरु समेत थिए । उर्लाबारीमा ४ वर्षअघि पहिलो पटक मिस उर्लाबारी भएको थियो ।