सिन्धुली । अवैध रुपमा बालुवा उत्खनन गर्ने डेढ दर्जन ट्रयाक्टरहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुलीले सदरमुकाम माढीबजार आसपासका खोलाहरुबाट बालुवा तथा ढुंगा उत्खननमा रोक लगाइएको भए पनि ट्रयाक्टरहरुले लुकिचोरी बालुवा उत्खनन गरेर व्यापार गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बालुवा ढुंगा सहितका १७ वटा ट्रयाक्टर प्रहरी नियन्त्रणमा लिएको प्रहरी कार्यालय सिन्धुलीका इन्सपेक्टर सन्तोष श्रेष्ठले बताए । खोलाबाट ढुंगा तथा बालुवाहरु संकलन गरिरहेकै अवस्थामा भेटिएकाले ट्रयाक्टरहरुलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला समन्यव समितिमा पठाइने इन्पेक्टर श्रेष्ठले बताए । जिल्ला समन्यव समितिका स्थानीय विकास अधिकारी शिवप्रसाद हुमेगाइँले अवैद्य रुपमा बालुवा ओसारपसार गर्ने तथा उत्खनन गर्ने ट्रयाक्टरलाई कारबाहीस्वरुप जरिवाना गरिने बताए । आसपासका खोलाहरुमा ढुंगा गिट्टी बालुवा निकासीको ठेक्का लगाउँदै आएको जिल्ला समन्यव समिति सिन्धुलीले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका कारण विगत ३ वर्षदेखि ठेक्का लगाउन सकेको छैन । असार, साउन भदौ तीन महिना उत्खनन गर्न नपाइने भए पनि निरन्तर जारी रहेको प्रहरीले जनाएको छ ।