काठमाण्डौ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बिरामी र आफन्तले शौच गरेबापत रकम असुल्ने गरिएको पाइएको छ । उपचार गराउन गएका बिरामी र आफन्तले शौचालय प्रयोग गरेबापत रकम असुल्ने गरिएको पाइएको हो । अस्पतालमा दैनिक १५ सय हाराहारीमा बिरामी जाने गरेका छन् । भिडभाड हुने स्थान (अस्पतालको उत्तर र दक्षिण)मा रहेका शौचालय बिरामीका लागि पासो बनेको चिकित्सकहरू नै बताउँछन् । उनीहरू पिसाबको ५ र दिसाको १० रुपैयाँ तिर्न बाध्य भएका छन् । अस्पतालका युरोलोजिस्ट प्राडा प्रेमराज ज्ञवालीले सरकारी अस्पतालमा बिरामीले पिसाब र दिसा गरेको आधारमा रकम उठाउनु गैरजिम्मेवारीपन भएको बताए । २० रुपैयाँको टिकट काट्न नसक्ने बिरामीले पिसाबको ५ र दिसाको १० रुपैयाँ तिर्न बाध्य बनाइनु गैरजिम्मेवार भएको उनको भनाइ छ । शौच गरेबापत बिरामीसँग पैसा उठाउने काम सरकारीमध्ये शिक्षण अस्पतालमा मात्रै भएको उनले बताए । अस्पतालले दुई कर्मचारीलाई प्रतिव्यक्ति मासिक ८ हजार तलब दिएर शौच गरेबापत पैसा उठाउन खटाएको छ । पिसाब गरेको १ र दिसा गरेको २ रुपैयाँ भनेर बाहिर देखिने गरी टाँसिएको छ । तर, पैसा उठाउनेले पिसाब गरेको ५ र दिसा गरेको १० रुपैयाँ उठाउँदै आएका छन् । रकम संकलन गर्न बसेका ध्रुव नेपालले माथिको आदेशअनुसार रकम संकलन गरेको बताए । रकम संकलन गरेबापत मासिक ८ हजार तलब पाउने गरेको उनले सुनाए । सुरुमा पिसाब फेरेको एक रुपैयाँ र दिसा गरेको दुई रुपैयाँ भनेर देख्ने गरी शौचालयमा टाँसेको थिएँ । पछि अस्पतालबाट मलाई स्पष्टीकरण सोधियो । त्यसैले अहिले ५ रुपैयाँ र १० रुपैयाँ लिन थालेको उनको भनाई छ । क्याम्पसका स्ववियु सभापति मिलन गैरेले पटक–पटक ठगी रोक्ने प्रयास गरे पनि असफल भएको बताए । ‘हामीले प्रशासनसमक्ष शौचालयबाट हुने ठगीलाई रोक्न भनेका थियौँ,’ उनले भने, ‘तर, सुनुवाइ भएन । शिक्षण अस्पताल महाराजगन्जका निर्देशक प्रा.डा दीपकप्रकाश महराले शौचालयमा भएको ठगी रोक्न निर्देशन दिए पनि नरोकिएको बताए । उनले भने, ‘पटक–पटक हामीले बिरामी र आफन्तसँग रकम नउठाउन भनेका छौँ । यसलाई रोक्न तत्काल लागिपर्ने उनले बताए ।