जुम्ला । जुम्लामा मृत भेटिएको भालुको अन्त्येस्टी गरिएको छ । जिल्ला पशुसेवा कार्यालयका डांक्टर रोशन कर्माचार्य र पशु विकास अधिकृत ज्ञानेन्द्र बुढाथापाको प्राविधिक टोलीले पोस्टमार्टम पछि भालुलाई जिल्ला वन कार्यालयमा गाडिएको हो । जुम्ला खलंगाबाट १६ कोष टाढा रहेको तल्फीमा भालु मरेको खबर पाएपछि भालुलाई वन कार्यालयका कर्मचारी र प्रहरीले दुई दिन लगाएर सदरमुकाममा ल्याएकोे जिल्ला वन अधिकृत मोहन श्रेष्ठले जानकारी दिए । भालु ठूलो भएकोले बजारमा ल्याउन कठिन भएकोले ४ घण्टासम्म कर्मचारी र प्रहरीले बोकेर पातारसीको लुमसम्म ल्याएको उनको भनाइ छ । त्यहाँबाट ट्याक्टरको सहायतामा सदरमुकाम पुरयाइएको सहायक वन अधिकृत भरत बुढाथापाले जानकारी दिए । पोष्टमार्टमका क्रममा २ वटा गोली लागेको पाइएपनि भालुको शरिरमा एउटा गोलीमात्रै भेटिएको डाक्टर कर्माचायले बताए । भालुको पित्त थैली नभएको र पछाडिका २ खुट्टा नभएको उनले जानकारी दिए । मृत भालुको तौल झण्डै २ सय ५० केजीको थियो । भालुका विभिन्न ठाउँमा घाउहरु रहेका र धेरै स्थानमा हतियार प्रयोग गरेको वन अधिृकत श्रेष्ठले जानकारी दिए । भालुलाई जिल्लाका राजनैतिक दल, जनप्रतिनिधिहरु, पत्रकारसहित सरोकारवालालाई राखेर मुचुल्का बनाई वन कार्यालयमै गाडिएको छ । मकै खान आएको भालु गाउँ पसेपछि गाउँलेले आक्रोशित भएर मारेको हुनसक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डा.तपन कुमार दाहालले भालुको आक्रमणबाट २ जना घाइते भएको र उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताए । यसबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।