काठमाण्डौं नयाँ संबिधानमा आधारित राष्ट्रिय स्वास्थ्य नीति तर्जुका लागि ‘नयाँ स्वास्थ्य नीति निर्माण उच्चस्तरीय समिति’को बैठकले एउटा परामर्श समिति र ९ वटा कार्यदल गठन गर्ने भएको छ । स्वास्थ्य नीति तर्जुका लागि मंगलबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको समितिले जनाएको छ । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको ११ सदस्यिय उच्चस्तरीय समितिको पहिलो बैठकले कार्ययोजना, विभिन्न कार्यदल गठन, नीति निर्माण सम्बन्धी कागजातको सम्बन्धमा, सुझाव संकलनका लागि गोष्ठी, सेमिनार सञ्चालन तथा बजेट कार्यक्रम सम्बन्धमा छलफल गरेको थियो । बैठक पश्चात्त पत्रकारहरुसित संक्षिप्त कुराकानी गर्दै समितिका कार्यकारी उपाध्यक्ष डा. महेश मास्केले मंगलबार गठित नौ वटा छुट्टाछुट्टै कार्यदलले स्वास्थ्य प्रणाली, आधारभूत स्वास्थ्य सेवा, आधारभूत स्वास्थ्य सेवामा स्वास्थ्य वीमाको सहज पहुँच, नर्सिङ्ग सेवा, चिकित्सा शिक्षा, मेडिकल काउन्सिल लगायतका स्वास्थ्य सम्बन्धी सबै विषयलाई समेट्ने गरी काम गर्ने जानकारी दिए । त्यस्तै, उक्त कार्यदललाई परामर्श दिनकै लागि परामर्श समिति बनाएको उनले बताए । नीतिको पहिलो मस्यौदा डेढ महिना भित्र तयार गरी त्यसलाई प्रदेश स्तरमा लैजाने निर्णय भएको छ । कार्यदलबाट प्राप्त सुझावकै आधारमा समितिले प्रतिवेदन तयारी गरी आगामी मंसिरको चुनाव अगावै मन्त्री परिषद्को वैठकमा पेश गर्ने समितिले जनाएकोे छ । संघीय संरचना अनुसार नेपालको संविधानमा उल्लेख भए अनुसारको ‘राष्ट्रिय स्वास्थ्य नीति ०७४’ तर्जुमाका लागि गत भदौ ५ गते बसेको मन्त्रीपरिषद्को वैठकले स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा ११ सदस्यिय ‘नयाँ स्वास्थ्य नीति निर्माण उच्चस्तरीय समिति’उच्चस्तरीय समिति गठन गरेको थियो ।