बैतडी । शल्यक्रियाबाट सुत्केरी गराउने सेवा सुरु भएयता जिल्ला अस्पताल बैतडीमा सुत्केरीका लागि चाहिने रगत खोज्न समस्या हुँदै आएको छ ।
रक्त सञ्चार केन्द्र र रक्तदाताको अभावमा बिरामीका आफन्त र स्वास्थ्यकर्मीले समस्या भोग्दै आएको जिल्ला अस्पतालका प्रमुख डा गुणराज अवस्थीले बताए ।
रगतको व्यवस्था गर्न नसक्दा जिल्ला अस्पताल आएका बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको उनले बताए । रक्त सञ्चारको सुविधा नहुँदा दुर्गम गाउँबाट आएका सर्वसाधारणलाई समस्या हुँदै आएको उनको भनाइ छ ।
चिनजानका भरमा बिरामीका आफन्तले रक्तदाता खोज्नु पर्ने नपाएमा सेना र प्रहरी कार्यालय जानु पर्ने अवस्था आएको डाक्टर अवस्थीले बताए । त्यहाँ नपाए अन्य उपाय नै नभएको उनको भनाइ छ । रक्त सञ्चार केन्द्र ब्लड बैंक नहुँदा सञ्चय गर्नसक्ने अवस्था नभएको अस्पतालले जनाएको छ ।
अस्पताल पुग्ने वित्तिकै रगत आवश्यक हुने बिरामीका आफन्तलाई सेना, प्रहरी, स्वास्थ्कर्मीबाट जुटाउन खोज्न पठाउने नसके रिफर गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
जिल्ला अस्पतालमा जटिल प्रसूति सेवा सुरु भएपछि रगतको आवश्यकता बढेको हो । शल्यक्रिया गरेर प्रसूति गराएकालाई रगत आवश्यक हुन्छ । रगत जुटाउन नसक्दा ग्रामीण क्षेत्रबाट उपचारका लागि आएका विचल्लीमा पर्दै आएका छन् ।
रक्तदाता नपाएर बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था कम गर्न सुत्केरीका लागि अस्पताल आउने महिलासँगै श्रीमान् वा जिम्मेवार पुरुष आउनुपर्ने नियम बनाएको अस्पतालले जनाएको छ ।
पटक÷पटक रक्तसञ्चार केन्द्र बनाउन छलफल गरे पनि अन्य सरोकारवालाले चाँसो नदेखाउने गरेको स्वास्थ्य कार्यालयको गुनासो छ ।