शनिश्चरे/सरकारी सहयोगविना पब्लिक क्याम्पसहरु सञ्चालनमा आर्थिक कठिनाइ भइरहेको अवस्थामा मोरङको पथरीशनिश्चरेस्थित पथरी बहुमुखी क्याम्पस ३० लाख घाटामा रहेको छ ।

क्याम्पस सञ्चालक परिषदको सातौं वैठकका अवसरमा शनिबार आयोजित कार्यक्रममा क्याम्पसका तर्फबाट प्रमुख चेतन पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसलाई सवै मिलेर आर्थिक समस्याबाट उकास्न आग्रह गरेका छन् । गत आर्थिक वर्षदेखि प्राध्यापक, शिक्षक, कर्मचारीको तलव भुक्तानी सहित गरी ३० लाख रुपैयाँ अपुग भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा विश्व विद्यालय अनुदान आयोगको गुणस्तरीय सुनिश्चितता ( क्यूएए) र उच्चशिक्षा सुधार परियोजना ( हर्प) का कार्यक्रम क्याम्पसले सुरु गरेर भौतिक तथा शैक्षिक गुणस्तरीयता बढाउन थालेको जनाइएको छ । तर प्राध्यापक, शिक्षक र कर्मचारीको तलव भनें सरकारी सहयोगविना विद्यार्थी शुल्कबाट मात्रै सञ्चालन गर्नुपर्ने भएकाले विद्यार्थी संख्या थप बढाउन आवश्यक रहेको र यसमा सवै पक्षले सहयोग पुर्याउनु पर्ने वक्ताहरुले बताएका छन् ।

कार्यक्रममा बोल्दै सांसद चण्डीप्रसाद राई, पब्लिक क्याम्पस संघका केन्द्रीय उपाध्यक्ष पितकुमार श्रेष्ठ, १ नम्बर प्रदेश संयोजक उत्तमकुमार भट्टराई लगायतले मिल्दो विषय थपेर भएपनि क्याम्पसले विद्यार्थी संख्या बढाउन तथा नगरपालिकाले समेत नियमित आर्थिक सहयोग प्रदान गर्न अनुरोध गरेका छन् । क्याम्पसले यसअघि पुराण लगाएर ३६ लाख रुपैयाँ वैंकमा कोषका रुपमा राखेको भएपनि थप आर्थिक व्यवस्थापनमा सवै पक्षले थप जोड दिई विश्वविद्यालय अनुदान आयोगको सवै कार्यक्रम सम्पन्न भएपछि भनें यसको गुणस्तरीयताले प्रभाव पार्ने उल्लेख गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ कै एकमात्र क्याम्पस पथरी क्याम्पसले उपयुक्त विषयमा स्नातकोत्तरको कक्षा समेत थप्न सरकारी पहल थालेको छ । ०६६ मा स्थापित भौतिक हिसावले भनें व्यवस्थित नै देखिएको क्याम्पसमा शिक्षाशास्त्र तर्फ जनसंख्या, स्वास्थ्य तथा शारीरिक, व्यवस्थापनतर्फ बजारशास्त्र र वित्तशास्त्र तथा मानविकीतर्फ समाजशास्त्र, अंग्रेजी र जनसंख्याको अध्यापन हुँदै आएको छ ।

अध्यक्षमा पुनः न्यौपाने

शुक्रबार अवेर सम्पन्न अधिवेशनबाट पुन : मोहनकुमार न्यौपानेलाई अध्यक्ष चुनेर नयाँ कार्यसमिति चयन भएको छ । सर्वसहमत चयन भएको समितिको उपाध्यक्षमा दिननाथ तिम्सिना तथा सदस्यमा, ज्ञानेन्द्र भट्टराई, शिवप्रसाद तिम्सिना, कृष्णराज वेघा, गंगाप्रसाद सावाँ, मानप्रसाद लिम्बू, वेदनिधि खनाल, रोहिणीप्रसाद घिमिरे, दुर्गादेवी दंगाल, सीता गिरी, मानबहादुर श्रेष्ठ, कुलमाया भण्डारी र वर्षा डाँगी चयन भएका छन् ।

यसैगरी, लेखा समिति संयोजकमा केशवप्रसाद दहाल, सदस्यमा एकराज निरौला र हर्कराज राई चयन भएको सञ्चालक समितिका पदेन सदस्य सचिव एवम क्याम्पस प्रमुख चेतन पौडेलले जनाए ।