काठमाडाैं/ यो साता तीन दिन मात्रै सेयर कारोबार भएको छ। नेप्सेमा तीन दिन १७१ कम्पनीहरुको दुई अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
कारोबार रकम गत साताको भन्दा ३२ प्रतिशत कम हो। गत साता तीन अर्ब ५६ करोडको सेयर किनेबच भएको थियो। गत साता ४ दिन कारोबार भएको थियो जसले गर्दा कारोबार रकम यो साता घटेको देखिएको हो। यो साता नेप्से परिसूचक भने स्थिर रह्यो।
साताको पहिलो दिन १५५४ अंकमा रहेको नेप्से १५५४ मै आएर बन्द भएको छ। उत्पादनमूलक समूह ७२, बिमा ५९, जलविद्युत २० र फाइनान्स समूह ४ अंकले घटेका छन्। बैंकिङ २, विकास बैंक १५, अन्य ५ तथा होटल समूह १० अंकले बढेका छन्।
यस साता कारोबार रकमका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक अग्रस्थानमा रह्यो। उसको १२ करोड ३१ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यद्यपी कम्पनीको बुधबार भएको कारोबारको राफसाफ भने नहुने भएको छ।
धितोपत्र बोर्डले सिडिएससीलाई बुधबार भएको इन्भेष्टमेन्टको कारोबारको राफसाफ नगर्न निर्देशन दिएको छ। उच्च कारोबार रकमका आधारमा दोस्रोमा रहेको नविल बैंकको १० करोड ४६ लाखको सेयर खरिदबिक्री भएको छ। यी दुवै बैंकले लाभांश घोषणा गरिसकेका छन्।
इन्भेष्टमेन्टले १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद तथा नविलले १८ प्रतिशत नगद तथा ३० प्रतिशत बोनसको घोषणा गरेका छन्। कारोबारका आधारमा निर्धन उत्थान बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर उत्कृष्ट पाँचभित्र पर्न सफल भए। त्यसैगरी कारोबार भएको सेयर संख्याको गुँरास लाइफ इन्स्योरेन्स कम्पनी संस्थापक अग्रस्थानमा रहेको छ। उसको एक लाख ७५ हजार कित्ता सेयर किनबेच भएको छ।
कारोबार संख्याको आधारमा हिमालयन पावर पार्टनर लिमिटेड अग्रस्थानमा रह्यो। उसको २ हजार ६७६ पटक सेयर कारोबार भयो। यस साता कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको बोनस तथा सहयोगी र पूर्णिमा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।
सेतोपाटी

































