काठमाण्डौं । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई बर्खास्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले खड्कालाई निगमको कार्यकारी निर्देशकको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । आपूर्तिमन्त्री शिवकुमार मण्डलले खड्काले काममा सहयोग नगरेको आरोपसहित वर्खास्त गर्न प्रस्ताव लगेका थिए । सोही प्रस्ताव अनुसार उनलाई कारबाही गरिएको सूचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए । पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा खरिद प्रकरणमा अनियमितता भएपछि संसदीय समितिहरुले खड्कालाई तत्काल निलम्बन गर्न निर्देशन दिएका थिए । झापा, सर्लाही, रुपन्देही, चितवन जिल्लामा पेट्रोलियम पदार्थ भण्डारणस्थल बनाउन आयल निगमले जग्गा खरिद गर्दा प्रचलित भन्दा बढी मूल्यमा खरिद गरेको विवरणमा खड्कालाई संसदीय समितिहरुले दोषी ठर्हयाएका थिए ।