धरान/कवि विमल गुरुङको ४३ औं जन्मजयन्ती तथा विमल स्मृति पुस्तकालयको २७ औं वार्षिकोत्सवको अवसर पारेर राष्ट्रिय कविता महोत्सव गरिने भएको छ ।
कात्तिक १९ गते धरान–१८ स्थित पुस्तकालयमा प्रतियोगिता गरिने भएको शनिबार निर्णय गरिएको छ । उक्त अवसरमा कविद्वय धरानका वम देवान र मोरङ उर्लाबारीकी मिश्र वैजयन्तीलाई दोसल्ला ओढाएर अभिनन्दन गरिने भएको छ ।
त्यस्तै संस्थाबाट धरानको माउन्ट हर्मन एकेडेमी स्कुललाई अभिनन्दन गरिने भएको सदस्य राजेश विद्रोहीले बताएका छन् । अभिनन्दन गरिने विषयमा पनि शनिबार नै समितिको आकस्मिक बैठक बस्दै निर्णय गरिएको थियो ।
पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङको अध्यक्षतामा बसेको छलफलले उक्त निर्णय गरेको हो । राष्ट्रिय कविता महोत्सवमा सहभागीहरु विजेता तीनजनाले नगद २०, १५ र १० हजार रुपैया प्राप्त गर्ने छन् ।