साना पार्टीकाे पनि गठबन्धन
काठमाडौँ/‘सम्पूर्ण उत्पीडित समुदाय एक हौँ’ भन्ने नाराका साथ विभिन्न पाँचवटा स–साना दलले उत्पीडित गठबन्धन निर्माण गरेका छन् ।
गठबन्धनमा विश्वेन्द्र पासवान नेतृत्वको बहुजन शक्ति पार्टी, भुवन सुनार नेतृत्वको नेपाल श्रमिक शक्ति पार्टी, मेघबहादुर कामी नेतृत्वको नेपाल दलित पार्टी, तारा विक नेतृत्वको संयुक्त दलित अधिकार मञ्च तथा शोवराती मन्सुर नेतृत्वको संयुक्त मुस्लिम अधिकार मञ्च रहेका छन् ।
उनीहरुले एउटै चुनाव चिह्न लिएर सातवटै प्रदेशमा प्रदेश र सङ्घको निर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेको बहुजन शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले जानकारी दिए । उनले नेपालको संविधान उत्पीडित जनताको पक्षमा नरहेकाले निर्वाचनमा विजय भएपछि संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।
उनले राज्यबाट पाउनुपर्ने अधिकारबाट वञ्चित तथा बहिष्करणमा परेका र पहुँच नपुगेकालाई मात्र आरक्षणको व्यवस्था हुनुपर्ने औँल्याए ।
संयुक्त मुस्लिम अधिकार मञ्च नेपालका अध्यक्ष शोवराती मंसुरले देशको कूल जनसङ्ख्याको एक तिहाइ भएको जनतालाई संविधानमा उपेक्षा गरिएकाले यसको संशोधन हुनुपर्ने बताए । उनले हामी सबैले स्वीकार्न सक्ने संविधान निर्माण गर्न अझै धेरै लड्नुपर्ने बताए ।
नेपाल दलित पार्टीका अध्यक्ष मेघबहादुर कामीले देशका ६० लाख दलितसहित आदिवासी, जनजाति, महिला तथा उत्पीडित जनताले अझै अधिकार नपाएकाले सबै एक भएर निर्वाचनमा होमिएको बताउँदै यदि यो सरकारले चुनाव गरेन भने आफूहरु आन्दोलनमा जाने बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































