धरान/आरम्भ नाट्य डबलीले नाटक मञ्चनका साथ २०७४ सालको देउसीभैलोको शुक्रबार साँझ समापन गरेको छ ।
[caption id="attachment_58816" align="alignnone" width="718"]
तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption]
डबलीले ‘रंगकर्मको लागि थिएटर हल’ निर्माण गर्ने उद्देश्यले यसपटक तिहारमा देउसीभैलो कार्यक्रम आयोजना गरेको थियो । जसमा नेपाली गीतसंगीत साथै नेपाली संस्कृतिलाई उत्थान गर्ने उद्देश्यले नै देउसीभैलो कार्यक्रममा नेपाली गीत संगीतलाई मात्रै प्राथमिकता दिइएको अध्यक्ष गोपाल देवानले बताए ।
उनका अनुसार देउसीभैलोबाट हल निर्माणका लागि धरानका अभिभावकहरुले करिव ४ लाख रुपैया सहयोग गरेका छन् । आरम्भले यस अघि नै धरान–४ मा थिएटर हल बनाउनको लागि सिलान्याससमेत गरिसकेको छ । नाटकका हस्ती एवम् नाट्यकला प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले हलको शिलान्यास गरेका थिए ।
देउसीभैलोमा गीत संगीतलाई पनि नाटकीय रुपमा देखाइएको र धेरै अभिभावकहरुले मन पराएको सचिव एव कवि प्रविण राईले जनाए । शुक्रबार साँझ धरान–१२ चतरालाइनमा रहेको आरम्भको कार्यालय परिषरमा देउसीभैलो खेल्दै समापन गरिएको थियो । समापन कार्यक्रममा नेताहरुको कारण देश अस्तव्यस्त बनेको, विकृति विसंगति तथा बेतिथिहरु बढेकोप्रति व्यङ्ग्य गर्दै ‘पानचिते मामा’ नामक नाटक देखाइएको थियो । नाटक हेरेर चतरालाइनबासीले आनन्द लिएका थिए ।
अग्रज पत्रकार तथा कवि गोपाल देवानद्वारा लेखन र निर्देशन गरिएको नाटकमा कलाकार प्रविण राई, कृष्ण तिम्सिना, पानस गुरुङ, दिलिप राई, कमानसिंह राई, तिर्थ बिक, सन्देश क्षेत्री, प्रकाश पोखरेल, सविना राई, गंगा मगर, रश्मी मोक्तान, र शोभा बिकले अभियन गरेका थिए । यो नाटक देउसीभैलोको क्रममा धरान र भेडेटार गरी ९ स्थानमा देखाइएको थियो ।