धरान । सुनसरीको क्षेत्र नं १ मा मात्र नभई देशैभर बाम गठबन्धनले जितिसकेको माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य अशोक राईले बताएका छन् । धरान १९ स्थित सगरमाथा चोकमा बाम गठबन्धनले आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै नेता राईले मंसिर २१ को निर्वाचन बामपन्थी गठबन्धनले अहिल्यै जितिसकेको तर घोषणा हुन मात्र बाँकी रहेको बताए । चुनावमा बामपन्थीहरुले ७० प्रतिशतभन्दा बढी मत पाउने दाबी गर्दै उनले भने,‘यो क्षेत्रमा एमालेले एक्लै पनि जितिरेको ठाउँ हो, अझ हामीले साथ दिएपछि त अहिल्यै जितिसक्यौं ।’

देशलाई दुर्घटनाबाट जोगाउन र नयाँ संविधान कार्यान्वयन गर्नको लागि पनि बाम गठबन्धन भएको उनले बताए । सरकार बन्न नपाउदै दिनगन्ती शुरु गर्ने लगत राजनीतिक सँस्कारलाई हटाएर देशमा स्थिरता, शान्ति, विकास र समृद्धिको लागि बामपन्थी एकता भएको उनको भनाई थियो । मंसिर २१ गते पछि बामपन्थीहरुको ७ वटै प्रदेश र केन्द्रमा बहुमतको सरकार बन्ने स्पष्ट संकेत पाएपछि प्रधानमन्त्री देउवा हतास मानसिकतामा बमपन्थी एकतालाई अधिनायकवाद भन्दै बर्बराउन थालेको उनले बताए । ‘सरकार बन्ने र ढाल्ने खेलको अन्त्य गर्न यो एकता हो, बामपन्थी एकताले सांसद किनबेच अन्त्य गर्छ, र ५ बर्षसम्म स्थिर सरकार बनाउछ,’उनले भने ।

बामगठन्धनका उम्मेदवार पनि राई समुदायकै जयकुमार राई भएपनि कांग्रेस र समाजवादी फोरमले भने आफ्नो उम्मेदवार मात्र राई समुदायको भएजस्तै गरि राई समुदायको मतदातालाई भ्रम छर्दै मत माग्दै हिडेको उनले बताए । ‘अशोक राई मात्र राई हुन् ? जयकुमार राई चै राई होइनन् ? आदरणीय मतदाताहरु भ्रममा नपर्न आग्रह गर्छु,’उनले भने ।