धरान । मानव स्वास्थ्यलाई प्रतिकुल असर पुग्ने गरी धरानमा शवदाह गरेको कोइलाबाट सेकुवा र मकै पोलेर बिक्री हुने गरेको समाचार अाजकाे अन्नपूर्ण पाेष्टले छापेको छ ।

समाचारमा लेखिएको छ- धरान–१४ स्थित खत्रीधारामा शवदाह गरेका दाउराबाट उत्पादित कोइला स्थानीय होटल व्यवसायीले खरिद गरी सेकुवा र मकै पोल्ने गरेको पाइएको छ ।

 शवदाह गरेको कोइला खुलेआम बिक्री हुँदासमेत सरोकारवाला निकाय भने मौन बसेको स्थानीयको गुनासो छ । उनीहरुले त्यस्ता कोइला बिक्री बन्द गर्न माग गरेका छन् ।

खत्रीधारा आर्यघाटका चौकीदार सन्दीप थापाले स्थानीय होटल व्यवसायीहरुलाई सहुलियत दरमा कोइला बिक्री गर्ने गरेका छन् । उक्त कोइला स्थानीय होटल व्यवसायीहरुले बिहान र बेलुकाको समय पारेर खरिद गरी लाने गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।