काठमाडौं/ शिक्षक सेवा आयोगले शिक्षक बन्न विषयगत लाइसेन्स अनिवार्य लिनुपर्ने व्यवस्था लागु गर्न लागेको छ । आयोगले कक्षा ६ भन्दा माथि पढाउन शिक्षकले विषयगत रूपमा अनुमति लिनैपर्ने तयारी सुरु गरेको हो । विज्ञहरूसँग छलफल गरी आयोगका प्रमुख प्रशासकीय अधिकृत डा. तुलसीप्रसाद थपलियाले विषयगत लाइसेन्सको व्यवस्थापन गर्नुपर्ने अवधारणापत्र पेस गरेका छन् । एकभन्दा बढी विषयमा लाइसेन्स लिन चाहनेलाई समेत उपलब्ध गराउन सक्ने गरी आयोगले तयारी गरेको हो । आयोगले शिक्षकलाई अहिलेसम्म तहगत मात्र लाइसेन्स दिने व्यवस्था छ । तहगत रूपमा लाइसेन्स दिँदा विषयवस्तुमा राम्रो ज्ञान भएका शिक्षक कम आउने गरेको आयोगको भनई छ । प्रशासकीय प्रमुख थपलियाले शिक्षाको गुणस्तरीयताका लागि शिक्षकलाई विषयको किटान गरेर लाइसेन्स दिनुपर्ने अवस्था छ रहेको बताए । आयोगले अहिलेसम्म साढे सात लाखले लाइसेन्स लिएको र बढी निमावि तहका लागि अध्यापन अनुमतिपत्र लिएको बताए । आयोगले लाइसेन्स अनुमतिपत्र ०६१ देखि वितरण गर्न थालेको हो ।