मोरङ । मोरङ क्षेत्र नम्वर ३ मा पछिल्लो सयम चुनावी माहोल तातेको छ । आगामी मंसिर २१ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसबाट विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलका सञ्चालक वेलवारी वासी डा. सुनिल शर्मा र काठमाडौं वासी एमालेका पूर्व सचेतक भानुभक्त ढकाल बीचको प्रतिष्पर्धा हुने देखिएको छ । त्यसो त मोरङ ३ का २६ वटा वार्डलाई लाल किल्लानै भन्ने गरिन्छ । त्यही आधारमा पनि वाम गठबन्धनका तर्फबाट एमाले पूर्व सचेतक भानुभक्तले यो क्षेत्र रोजेको हुनु पर्छ । तर, परिस्थित अहिले भानुभक्तले सोचे जस्तो छैन । स्थानीय वासी र अतिथि उमेद्वारको प्रतिष्पर्धाले पनि सुनिल शर्मा आफूलाई बलियो ठान्दछन् । नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल मार्फत उनले सो क्षेत्रमा लामो समयदेखि सेवा दिदै आएका छन् । धेरैलाई निःशुल्क उपचार गराउनु र स्वास्थ्य सम्वन्धी शिक्षा समेत निःशुल्क रुपमा दिनु र शर्माको पक्षमा देखिएको माहोलले वाम गठबन्धनलाई सोचे जस्तो सहज नभएको राजनीतिक विश्लेषक बताउँछन् । गत स्थानीय तहको निर्वाचनको मतका आधारमा हेर्दा मोरङका २६ वडा समेटिएको मोरङ ३ मा वाम गठबन्धनका लागि जित हात पार्न सबैभन्दा सजिलो क्षेत्र हो । जहाँ बाम गठबन्धनको मत कांग्रेससँग अन्य क्षेत्रको तुलनामा भन्दा धेरै फराकिलो छ । स्थानीय तहको मतलाई आधार मान्दा यस क्षेत्रमा वामपन्थीको मत ४२ हजार र कांग्रेस गठबन्धनको मत २२ हजारको हाराहारीमा रहेको छ । यसरी हेर्दा यस क्षेत्रमा बाम गठबन्धनको जित सहज देखिए पनि कांग्रेसबाट उम्मेदवारी दिएका सुशील शर्माको कसरत र स्थानीयवासी भएको कारण पनि बाम गठबन्धनलाई कडा टक्कर दिने राजनीतिक विश्लेषकको भनाई छ । एमालेको सेफ जोन मानिएको मोरङ ३ मा वाम गठबन्धनबाट स्थानीयले टिकट नपाउनु र काँग्रेसले सुनिल शर्मालाई प्रतिनिधी सभामा उतार्नुले कडा प्रतिष्पर्धाको अड्कल गरिएको हो । यता ढकाल भने एमाले एक्लैले जित्न सक्ने क्षेत्रमा माओवादीको समेत मत थपिने भएकाले गठबन्धनकै बलमा जित हात पार्ने दाउमा छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेतालाई ल्याएर चुनावीसभा मार्फत शक्ति प्रदर्शन गराएका छन् । काँग्रेसले भने ढकाल पर्यटक उमेद्वार भएको भन्दै काँग्रेसले स्थानीयलाई जिताउन चुनावी प्रचार गरिहरको छ । तर, शर्माले कांग्रेस समर्थकको मात्र मतले चुनाव जित्ने सम्भावना भने छैन । स्थानीय इमान्दार एमाले नेतालाई टिकट नदिएर तेह्रथुमबाट आएका टुरिष्ट उम्मेदवारलाई टिकट दिएको भन्दै उनले स्थानीय एमाले कार्यकर्ताले समेत आफुलाई मत दिनुपर्ने शर्माको विस्वास छ । तेह्रथुमबाट आएका ढकाललाई भन्दा स्थानीय क्षेत्रमा घर भएका सुनील शर्मालाई जिताउँदा नै राम्रो हुने कतिपयको बुझाई छ । यता, वाम वठबन्धनले पनि भानुभक्तको हेभी वेटलाई प्रचारात्मक रुपमा लाने गरेको छ । गएको स्थानीय तहको निर्वाचनमा सुन्दरहरैंचामा एमालेले पराजय भोग्नुले पनि कसैले ढुक्क हुने स्थिती भने छैन । गत स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा पर्ने सुन्दरहरैंचा नगरपालिकामा मेयर बाहेकका अधिकांश पदमा एमाले उम्मेदवार विजयी भएका थिए । अन्य पदमा विजयी भइरहँदा मेयर पदमा पराजित हुनुको कारण आफ्नै पार्टी भित्रको अन्तरघात भएको एमालेमा चर्चा चलेको थियो । मेयरमा एमालेका केदार गुरागाईंलाई हराएर कांग्रेसका शिव ढकाललाई जिताउन एमालेकै कार्यकर्ता लागेको घटनाले वाम गठबन्धनमा यस पटक खवरदारीका लागि कार्यकर्ता परिचालन गरिएको बताइएको छ ।