काठमाडौं । निर्माण व्यवसायी शरदकुमार गौचनको हत्याका योजनाकार समीरमान सिंह बस्नेत पक्राउ परेसँगै नयाँ ट्वीस्ट आएको छ । गौचनले आफ्नो कन्स्ट्रसन कम्पनीमा कुमार घैंटेमार्फत लगानी भित्र्याएको र त्यही रकम विवादमा उनको हत्या भएको प्रहरीको रिपोर्टमा उल्लेख छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समीरमानलाई शनिबार चितवनबाट पक्राउ गरेको छ । बस्नेत केही वर्षयता नेपाल र नेपाल बाहिर रहेर व्यवसायीबाट चन्दा उठाउने, ठेक्कापट्टामा हस्तक्षेप गर्ने र व्यक्ति अपहरण गर्ने लगायतका कार्यमा संलग्न रहँदै आएका थिए । सीआईबीका अनुसार मृतक गौचनले आफ्नो डाँफे कन्स्ट्रक्सनमा शेयर दिने भनेर गजुरमुखी कन्स्ट्रक्सनका मुख्य लगानीकर्ता कुमार घैंटेमार्फत साढे २ करोड लिएका थिए । जसमध्ये एक करोड समीरमानको भएको दाबी छ । तर, घैंटेे ३ भदौ ०७२ मा प्रहरी कारबाहीमा मारिए । प्रहरीका अनुसार घैंटेको मृत्युपछि समीरमानले शरद गौचनसँग साढे २ करोड दाबी गरे । र, रकम फिर्ता गर्न वा शेयर दिन पटक-पटक आग्रह गरे । गौचनले यो नमानेपछि उनीहरुबीच विवाद भयो । प्रहरीका अनुसार समीरमानले वीरगञ्ज विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिसन वापत २ प्रतिशत रकम पनि मागेका थिए । तर, गौचनले नदिएकाले समीरमानकै योजनामा उनको हत्या भएको खुलेको छ । नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको काठमाडौंको शान्तिनगरमा गोली हानी हत्या गरिएको थियो । ०७३ साल पुस ४ गते रुपन्देहीका युवा संघ अध्यक्ष दुर्गा तिवारीको हत्या र २९ चैतमा गुण्डा दावा लामाको हत्या प्रयासको समेत बस्नेत नै योजनाकार भएको सीआइबीले जनाएको छ । व्यवसायी गौचन हत्याकाण्डमा संलग्न ७ जना अझै फरार छन् । फरार रहेकाहरुमा बस्नेतका मुख्य सहयोगी मनोज पुन, सहयोगीहरु लोप्साङ लामा, गंगा प्रकाश लिङ्देन, श्याम गोम्बे गुरुङ, अमरबहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा छन् । यसअघि घटनामा संलग्न ७ जना पक्राउ परिसकेका छन् ।