काठमाडौं । ४५ जिल्लामा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुने दिन बिहीबार देशको मध्य र पश्चिम क्षेत्रमा सामान्य बदलाव रहे पनि काठमाडौंको मौसम सामान्य रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अरब सागरमा बनेको सामुद्रिक चक्रवत (ओकी) को प्रभाव नेपाली वातावरणमा केही महिना रहने भएकाले मध्य र पश्चिम क्षेत्रमा सामान्य बदलाव रहनसक्ने महाशाखाको अनुमान छ ।

नेपालमा डिसेम्बरबाट सुरु भएको जाडो मौसममा अरब सागरमा बनेको चक्रवतको प्रभाव रहेको महाशाखाले बताएको छ ।

ओकीका कारण नेपालको पश्चिम र सुदूरपश्चिमका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात हुन सक्नेछ । काठमाडौंसहित मध्यपश्चिम र पूर्वमा भने हिमपात हुने सम्भावना कम रहेको महाशाखाले जनाएको छ ।

“ओकीको असर नेपालका पश्चिमी क्षेत्रमा पर्ने देखिन्छ,” मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बाह्रखरीसँग भने, “काठमाडौं र पूर्वमा भने यसको असर नदेखिने हुँदा मौसम सामान्य रहनेछ ।” काठमाडौंको तापक्रम भने अझै घट्न सक्ने र  शून्यमा झर्न सक्ने उनको अनुमान छ ।