संघीयतामा स्वास्थ्य मन्त्रालयको पछिल्लो खाकाअनुसार चिकित्सा सेवा विभाग थप गरी चार विभाग बनाइने भएको छ । चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठका अनुसार स्वास्थ्य मन्त्रालयमातहत रहेका कुनै पनि विभाग हट्ने छैनन् ।
एक विभाग थप हुनेछ । दुई दिनअगाडि मन्त्रालयले अधिकार सम्पन्न प्रशासनिक पुनर्संरचना समितिलाई बुझाएको प्रतिवेदनमा चिकित्सा सेवा विभाग थप गर्न भनिएको छ । हाल स्वास्थ्य मन्त्रालयमा रहेको चिकित्सा महाशाखालाई हटाएर छुट्टै चिकित्सा सेवा विभाग बनाउन लागिएको श्रेष्ठले बताए ।
स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागअन्तर्गत हाल १२ वटा महाशाखा छन् । समितिले भनेअनुसार विभागलाई नहटाए पनि संरचना साँघरो बनाइनेछ । उनका अनुसार महाशाखाहरूले सञ्चालन गरिरहेका कतिपय कार्यक्रम स्थानीय तह र प्रदेशलाई जिम्मा लगाइने भएपछि क्षेत्राधिकार साँघुरो हुने भएको हो ।