काठमाडौं/ कक्षा ११ को नियमिततर्फको नतिजा पुस २० गतेभित्रै सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कर्मचारी चुनावले गर्दा नियमिततर्फको नतिजा प्रकाशन गर्न अलिकति ढिला भएको बताए ।

कपी जाँच सकिसकेको बताउँदै र अहिले संपरीक्षण भइरहेको पौडेलले बताए । प्राप्तांकसमेत इन्ट्री भइसकेको र संपरीक्षणपछि नम्बर करेक्सनमा लैजाने र लगत्तै नतिजा प्रकाश गर्ने अध्यक्ष पौडेलले बताए । गत वर्षको तुलनामा नियमिततर्फको नतिजा ढिलो नभएको दाबी गर्दै उनले विद्यार्थीलाई सहज होस् भनेर मौका परीक्षाको नतिजा पहिले ल्याएको बताए ।

कक्षा ११ को नतिजा पनि यो वर्षदेखि ग्रेडिङ प्रणालीमा प्रकाशित हुने भएको छ । ग्रेडिङ प्रणालीबाट आउन लागेकाले नतिजाबारे विद्यार्थीमा कौतूहल देखिएको परीक्षा बोर्डले बताएको छ ।  ग्रेडिङ प्रणाली वैज्ञानिक र अन्तर्रा्ष्ट्रिय स्तरमा पनि मान्य भएकाले कक्षा ११ को नतिजा ग्रेडिङ प्रणालीबाट गर्ने बोर्डले निर्णय गरेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । कक्षा १२ को नतिजा पनि ग्रेडिङ सिस्टमअनुसार गर्ने बोर्डको तयारी छ ।