इटहरी । प्रदेश नम्बर– १ को राजधानी आआफ्नो ठाउँमा बनाउन आन्दोलन भइरहेका बेला सुनसरीको इटहरीवासीले भने आन्दोलनको अनौठो शैली अपनाएका छन्।
इटहरीलाई प्रदेश नम्बर– १ को राजधानी बनाउन दबाब दिनका लागि इटहरीवासीले राजधानी काठमाडौं जाने यात्रु तथा सवारी चालकलाई माला लगाएर सन्देश प्रवाह गर्न आग्रह गरेका छन्।
१ नम्बर प्रदेशको राजधानी माग्दै बन्द र हड्तालका कार्यक्रमहरू भइरहेका बेला इटहरीवासीले भने शान्ति र सद्भाव कायम गर्दै यस्तो कार्यक्रम गरेको राजधानी सरोकार समाज इटहरीका सचिव शैलेश विष्टले जानकारी दिए। बुधबार बिहान काठमाडौं जाने यात्रुहरूलाई पुष्प गुच्छा र चालकहरूलाई माला लगाइदिएर उनीहरूले १ नम्बर प्रदेशको राजधानी इटहरी उपयुक्त छ भन्ने सन्देश काठमाडौंलाइ दिन आग्रह गरेका हुन्।
बुधबार बिहान इटहरीबाट काठमाडौंका लागि छुट्ने यात्रुवाहक बसका यात्रुहरूलाई फूलको गुच्छा दिएर सुरु भएको दबाबमूलक कार्यक्रमलाई साँझ पनि ट्राफिक कार्यालय चोकमा भेला भएर निरन्तरता दिएको विष्टले बताए। विष्टले भने, ‘इटहरीलाई राजधानी बनाउनका लागि दबाब दिन इटहरीवासीको सन्देश काठमाडौंसम्म पु¥याउन खोजिएको हो।’
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन सुनसरीका अध्यक्ष सुमित थापाले इटहरी बन्द हड्ताल निषेधित र व्यवसायमैत्री ठाउँ हो भन्ने सन्देश दिएको बताए। इटहरीलाई प्रदेश राजधानी बनाउन इटहरीवासीले समिति नै बनाएर संघर्षका कार्यक्रम अघि सारेका छन्।
संघर्ष समितिको एउटा टोलीले राजधानी काठमाडौंमा शीर्ष नेताहरूसँग भेटघाट गरिरहेको एमाओवादी सुनसरीका नेता सागर सुवेदीले बताए। प्रदेश नम्बर– १ मा यातायातको चौतर्फी सुविधा, खाली जग्गा, सुरक्षा सबै हिसाबले इटहरी राजधानी हुन योग्य रहेको इटहरीवासीको दाबी छ।
पूर्वका पुराना शहरहरूलाई समेत नेतृत्व गर्दै अगाडि बढेको इटहरी प्रदेशका १४ जिल्लाको केन्द्रविन्दुमा पर्ने भएको कारण पनि राजधानी बनाउन पूर्वका अन्य शहरभन्दा निकै उपयुक्त शहर भएको उनीहरूको बुझाइ छ। अर्जुन सुवेदी÷थाहाखबरबाट