शनिश्चरे/मेची अञ्चलमा पछिल्लो समयमा दैनिक एक जनाले विभिन्न कारणले आत्महत्या गर्ने गरेको तथ्यांक बाहिर आएको छ ।
झापाको दमकस्थित बोधी मेन्टल हेल्थ एण्ड थेरापी सेन्टर शुरु गरेको मनोविमर्श सेवाको जानकारी दिने क्रममा डाक्टर टिपिओ नेपाल दमकका प्रमुख डाक्टर शालिग्राम भटराईले मेची अञ्चलमा दैनिक एकजनाले आत्महत्या गर्ने गरेको तथ्यांक उल्लेख गरेका हुन् । उनले, २५ देखि ३० प्रतिशत मानसिक समस्या भएका मानिसहरु रहेको बताउदै उनीहरुलाई मनोसामाजिक सहयोग, हेरचाह तथा परामर्श दिने जनाए ।
दमक नगरपालिकाले समेत युवायुवतीमा वढ्दो आत्महत्यालाई रोक्न मनोसामाजिक परामर्शका गतिविधिका बारेमा छलफल गर्दै योजना समेत अघि सारेको छ ।
सरकारी तथ्यांकलाई हेर्ने हो भने २० वर्ष देखि ४० वर्ष उमेर समूहका मानिसहरु धेरै मानसिक तनावमा परेको मनोविमर्शकर्ताहरुले बताउँदै आएका छन् ।
ब्यक्तिगत तथा समूहगत समस्या न्यूनिकरण, मनोवैज्ञानिक तथा सामाजिक उपचार पद्धति लागू गर्ने, अनुसन्धान गर्ने लगायतका सेवा दिने उदेश्यले बोधी मेन्टल हेल्थ शुरु गरिएको सञ्चालक तथा मनोविमर्शकर्ता बुद्धिप्रसाद पाण्डेले बताए । युवा, विधार्थीहरु प्राथमिकतामा राखेर मानसिक स्वास्थ्य सम्वन्धि तालिम दिने पाण्डेले जनाए ।