विराटनगर/भाइबरबाट सर्वसाधारण ठग्ने विराटनगरका अनूपचन्द सेठिया र उनका भतिजा ललितलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १ करोड ५० लाख धरौटी माग गरेको छ।
सेठिया काका–भतिजको बयान बुधबार अपराह्न सकिएपछि विभागका महनिर्देशक जीवनप्रकाश सिटौलाले १ करोड ५० लाख धरौटी लिने आदेश गरेका हुन् ।विराटनगरमा विगत २५ वर्षदेखि हुन्डीको कारोबारमा संलग्न रहँदै आएका अनूप र ललितसहित ७ जनालाई मोरङ प्रहरीले भाइबर ठगीको अभियोगमा गत कात्तिक ३० गते पक्राउ गरेको थियो ।अनूपले विराटनगरको मेनरोडमा रहेको आफ्नै घरको एक कोठालाई हुन्डीको कार्यालय बनाई सञ्चालन गर्दै आएका थिए । सातै अभियुक्त सोही कार्यालयबाट पक्राउ परेका हुन् ।
पक्राउ गर्दागर्दै प्रहरीले अनूपको ७५ लाख र अर्का अभियुक्त विमल चिरानियाँको ११ लाख २० हजार नगद बरामद गरेको थियो ।भाइबरबाट चिठ्ठा परेको भन्दै कर बुझाउनका सर्वसाधरणबाट उनीहरुले पैसा उठाउँथे।अनूप र ललितसँगै पक्राउ परेका चिरानियाँ समेतलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन मोरङ जिल्ला अदालतले गत मङ्सिर २७ गते आदेश गरेको थियो । जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल इजलासले ठगी मुद्दाका अभियुक्त अनूप र ललितलाई पुर्पक्षका लागि थुनामा राख्नसमेत आदेश गरेको छ ।जसअनुसार सेठिया काका–भतिजले सम्पत्ति शुद्धीकरण विभागमा धरौटी रकम बुझाए पनि मोरङ कारागारमा बस्नुपर्ने भएको छ ।सेठियासँगै पक्राउ परेका विमल चिरानियाँलाई मोरङ जिल्ला अदालतले साढे ३ लाख र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २२ लाख ४० हजार धरौटीमा छाडेको छ । विभागका महानिर्देशक सिटौलाले गम्भीर प्रकृतिको मुद्दा भएकाले चिरानियाँ र सेठिया काका–भतिजसित दोब्बर धरौटी माग गरिएको बताए । ‘अहिले त धरौटी माग्ने काममात्र भएको छ’, महानिर्देशक सिटौलाले भने, ‘बयानको काम सकिएको छ, अनुसन्धान अब सुरु गरिन्छ ।’विभागले २२ लाख ४० हजार धरौटी माग गरेका अर्का अभियुक्त चिरानियाँ ग्लोबल आइएमई बैङ्कको ग्यारेन्टी पेश गरेर रिहा भएको मोरङ प्रहरीले जनाएको छ । धरौटीको काम शुक्रबार सकिने विभागले १ करोड ५० लाख धरौटी माग गरेका शेठिया काका–भतिजले शुक्रबार मात्र धरौटी बुझाउने भएका छन् ।उनीहरूले धरौटीबापत नगदको सट्टा बैङ्क ग्यारेन्टी बुझाउन लागेकाले २ दिन समय लागेको प्रहरीले जनाएको छ । विभागमा धरौटी राखेपछि उनीहरूलाई विराटनगर ल्याएर मोरङ कारागार चलान गरिने प्रहरी उपरीक्षक अरुणकुमार बिसीले बताए ।सेठियासँगै पक्राउ परेका बलराम विश्वास, पङ्कज कर्ण, सनिदेवल विश्वास र श्रवणकुमार शाहलाई अदालतको आदेशअनुसार प्रहरीले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।बिजमाण्डु