दमक । झापाको दमकस्थित लाइफलाइन अस्पतालको लापरबाहीका कारण एक सुत्केरीको मृत्यु भएको बिषयलाई लिएर रातभर अस्पताल परिसर तनावग्रस्त भएको छ।
पाँचथर फाकतेप-५ की २८ वर्षिया निर्मला फियाकको प्रसुती सल्यक्रिया पछि मृत्यु भएको आफन्तले दाबी गरेका छन्। प्रसुती शल्यक्रिया सफल भएपनि आमाको मृगौलामा समस्या भएको कारण पिसाव बाहिर ननिस्किए पछि थप उपचारका लागि धरान रेफर गरेको लाइफलाइन अस्पताल प्रशासनले जनाएको छ। धरानस्थित वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानले बिरामी लिन नमानेपछि तत्कालै विराटनगरस्थित बिराट नर्सिङ होम लगिएको थियो। विराटनगरमा २ दिन बिरामी राखेपनि दमकस्थित लाइफलाइन अस्पतालले गल्ती गरेका कारण बिरामीको मृत्यु भएको विराटनगरको नर्सिङ होमले बताएको मृतकका आफन्त दिपकुमारी लिम्वु र बिरेन्द्र कुमार शेर्माले आरोप लगाएका छन्। लाइफलाइन अस्पतालले भने आफूहरुको गल्ती नरहेको दाबी गरेको छ। फियाकको बिहीबार बिराटनगरस्थित बिराट नर्सिङ होममा मृत्यु भएको थियो। बिराट नर्सिङले लाइफलाइनको गल्तीका कारण उपचार सफल पार्न नसकिएको बताएपछि मृतकका आफन्तले दमकस्थित लाइफलाइन अस्पताल घेराउ गरेका थिए। आक्रोशित भीडले अस्पतालमा सामान्य तोडफोड समेत गरेको छ। यसैबीच पीडित पक्ष, अस्पताल प्रशासन र इलाका प्रहरी कार्यालय दमकबीच भएको छलफल सहमतिमा टुंगिएको छ। बिहीबार राति भएको छलफलमा नवजात शिशुको पालनपोषण खर्च ब्यहोर्ने, औषधी उपचार निशुल्क गरिदिने, अर्की तीन बर्षकी छोरीलाई स्थानीय ढुकुरपानी माविमा बिद्यालयगततह सम्म निशुल्क अध्ययनको व्यवस्था मिलाउने र पछि दुई जना छोरी मध्ये एक जनालाई लाइफलाइन अस्पतालले मेडिकल क्षेत्र पढ्न चाहेमा निशुल्क पढाइदिने सहमति भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन बस्नेतले जनाकारी दिए। सहमती भएपछि आफन्तले शव बुझेका छन्।अन्नपूर्णपाेष्टबाट