काठमाडाैं । निर्वाचन आयोगले ७७ जिल्लाका २२० निर्वाचन क्षेत्रमा सम्पन्न प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको सिट बाँटफाँट गर्दै १३ दलले प्रदेशसभामा प्रतिनिधित्व गर्ने गरी सिट टुंगो लगाएको हो । एमाले, कांग्रेस, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम नेपाल, विवेकशील साझा पार्टी, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाल संघीय समाजवादी पार्टी को प्रदेशसभामा प्रतिनिधित्व हुने भएकाे छ । यसैगरी निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक मतका आधारमा दलहरुको सिट संख्या तोकेसँगै दलहरुलाई उम्मेदवारको नामावली पठाउन पत्राचार गर्ने निर्वाचन अायाेगले जनाएकाे छ ।

आयोगले दलहरुले निर्वाचनअघि समानुपातिक निर्वाचन प्रणालीका लागि आयोगमा बुझाएको बन्दसूचीको क्रमअनुसार हुने गरी सात दिनको समय दिएर उम्मेदवारको नाम पठाउन दलहरुलाई पत्र पठाउने तयारी गरेको आयोगका सचिव बेगेन्द्रराज शर्मा पौडेलले बताएकाछन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८० सिट जितेर ठूलो दल बनेको एमाले सातवटै प्रदेशको समानुपातिकतर्फ भने ७५ सिटमा सीमित भएको छ । प्रत्यक्षमा २३ सिटमा खुम्चिएको कांग्रेस समानुपातिकमा प्रदेशतर्फ एमालेभन्दा ३ सिटले मात्रै पछि परेको छ । एमालेले प्रदेशसभामा ७२ सिट पाएको छ । प्रत्यक्षको तुलनामा समानुपातिकमा कांग्रेस ३ गुणा बढी सिट जित्न सफल भएको छ ।