दाङ । जिल्लाको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेदिक क्याम्पसको करिब २६ करोड रुपैयाँमा निर्मित १०६ कोठे भवनमा पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीको कार्यालय कार्यालय रहने चर्चा चलेपछि यस क्षेत्रमा जग्गाको कारोबार बढेको छ।
यस क्षेत्रमा ५ नं. प्रदेशको मुख्यमन्त्रीको कार्यालय रहने चर्चा चुलिएसंगै जग्गा किन्न खोज्नेको संख्या बढेका कारण भाउ तेब्बरसम्म बढेको पाइएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मनिकापुरका यज्ञबहादुर वलीले जग्गा खोज्न आउनेहरुको संख्या बढेको बताएका छन्। विगतमा प्रतिकठ्ठा साढे ३ लाखमा बिक्री हुने जग्गा राजधानीको चर्चा भएसँगै एक्कासी बढेर प्रतिकठ्ठा १० लाख रुपैयाँ पुगेको उनले बताए।
प्रदेश तथा प्रतिनधिसभा निर्वाचन अघिसम्म प्रतिकठ्ठा ३ लाख रुपैयाँको दरमा बिक्री गर्न खोज्दा नबिकेको जग्गा राजधानीको हल्ला चलेपछि १० लाखमा बिक्री भएको बताए।
उनले उक्त जग्गाको बैना रकम बुझे पनि पास भइनसकेको जानकारी दिए। नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पस बेलझुण्डीको खाली चउरमा भेटिएका स्थानीय बासुदेव चौधरीले राजधानीको चर्चा चलेपछि जग्गा बेच्नुहुन्छ भन्दै सोध्नेहरुको संख्या बढेको बताए।