काठमाडौं । पार्टी एकताको खाका तयार गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले करिव ६ घन्टा वातचित गर्नुभएको छ । बिहीवार साँझ ७ वजेदेखि राती १ बजेसम्म ओली र दाहाल मात्रै बसेर भावी सरकार, पार्टी एकता लगायत विषयमा छलफल गर्नुभएको स्रोतले वताएको छ । आफ्नो निजी सचिवालयसँग राती १ बजेसम्म ब्यस्त रहने वताउँदै ओली र दाहाल एकान्तस्थलतिर जानु भएको थियो । ओली र दाहालले पार्टी एकताका लागि संयुक्त वैचारिक दस्तावेज, पार्टी एकतापछिको सांगठनिक खाका र एकताको मोडालिटीवारे समान धारणा बनाइसक्नु भएको छ । दुई नेताबीच भएको समझदारीलाई दुवै दलको बैठकमा प्रस्तुत गरी अनुमोदन गर्ने तयारी नेताहरुले गरेका छन् । आजै एमाले उपाध्यक्ष बामदेव गौतमको भैंसेपाटी स्थित निवासमा एमाले स्थायी समितिको बैठक बस्नेछ भने आजै वाम एकता संयोजन समितिको बैठक पनि बस्नेछ । चुनावी नतिजापछि ओलीलाई सिंगै देशले अव हुने प्रधानमन्त्रीका रुपमा हेरेको छ भने वाम गठबन्धनले पाएको अत्यधिक बहुमतलाई दुई पार्टी बीच एकताका लागि समेतको जनमतका रुपमा बुझिएको छ । नयाँ जनादेश अनुरुप कसरी पार्टी एकता र गर्ने र मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने भन्ने विषयमा ओली र दाहाल दुई नेता मात्रै बसेर लामो छलफल भएको हो ।