सिन्धुली/ सरकारको उच्च प्राथमिकतामा परेको सुनसरीको धरानदेखि मकवानपुरको हेटौंडासम्मको सडक निर्माणको कामले तिव्रता पाएको छ । धरानदेखि चतरा, गाईघाट, कटारी सिन्धुलीमाडी हुँदै हेटौंडासम्मको ३ सय १८ किलोमिटर सडकको कामले तिव्रता पाएको हो । यो सडकको ट्रयाक खोलेर पक्की बनाउने काम भइरहेको छ । तीन वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने उद्देश्यले शुरु गरिएको आयोजनाअन्तर्गत ३३ वटा पुलसमेत निर्माण भइसकेका छन् । पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गका रुपमा सरकारले सात वर्षअघि यो सडक निर्माणको काम थालेको हो । सडक निर्माण सम्पन्न भएसँगै मध्यतराईका जिल्लाको आर्थिक तथा सामाजिक विकासमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।