तेह्रथुम । केन्द्रीय प्रशारण लाइनको विद्युत जडानमा ढिलाई हुँदा तेह्रथुम र संखुवासभाको सीमावर्ती पर्यटकीय गुफाबजारका बासिन्दा समस्यामा छन् । पर्यटकीय क्षेत्र तीनजुरे–मिल्के–जलजले क्षेत्रको गुफाबजार, सुकेबजार र जोरपोखरी बजार क्षेत्र विद्युत नहुँदा अन्धकार बनेको हो ।

चैनपुर नगरपालिका–१, नुनढाकीस्थित यी बजार नजिकैसम्म केन्द्रीय प्रशारण लाइनको विद्युत पुगेको छ । तर यी बजारमा विद्यूत विस्तारकालागि बजेट अभाव हुँदा ढिलाई भइरहेको छ । विद्युत नहुँदा १५ दिनदेखि गुफा, सुके र जोरपोखरी बजारका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

यहाँका बासिन्दाले १७ वर्ष यता प्रयोग गर्दै आएको सीमखर्क जलविद्युत आयोजना जीर्ण बनेपछि पाँच वर्षयता सास्ती बेहोर्दै आएका छन् । दश वर्षे ग्यारेण्टी दिएको आयोजनाबाट यत्तिका धेरै लाभ लिएपनि केन्द्रीय प्रशारण लाइनको विद्युतीकरणमा ढिलाई हुँदा दुःख बेहोर्नु परिरहेको गुफाबजारको मकालु होटलका सन्चालक हरिप्रसाद खनालले बताउनुभयो ।

उहाँका अनुसार १५ दिनयता जलविद्युत आयोजनाको मेसिन बिग्रिएर विद्युत अवरुद्ध छ । विद्युत नहुँदा गुफाबजार पुगेका पर्यटकहरु समेत प्रभावित हुने गरेका छन् । विद्युत नभएपछि मोवाइल चार्ज, क्यामेरा चार्ज, खाना पकाउन, पानी तताउन तथा रातमा बत्ती बाल्न समस्या भएको स्थानीयबासी बताउँछन् ।

बजारमा विद्युत विस्तारका लागि दुई वर्ष अगावै विद्युत विस्तार समिति बनिसकेको छ । विद्युतीकरणका लागि स्थानीयबासीले समेत आवश्यक रकम जम्मा गर्न प्रति घरधुरी १५ हजार रुपैयाँसम्म जम्मा गरिसकेका छन् । तर तत्कालै विद्युत विस्तार नभएको गुनासो उनीहरुको छ ।

विद्युतीकरणका लागि केही पोल र तारको अभाव हुँदा विद्युतीकरण गर्न ढिलाई भएको विद्यूत विस्तार समितिका समितिका सचिव केदारनाथ लिम्बुले बताउनुभयो । अहिले केन्द्रीय प्रशारण लाइनको पोल र तार सुकेबजार नजिककै गुफापोखरी आधारभूत विद्यालयसम्म पुगेको छ ।

पटक पटकको पहलपछि बल्ल आएको लाइन पनि विस्तार गर्न ढिलाई भएको विद्यालयकी प्रधानाध्यापक हिमा खनाल बताउनुहुन्छ । चालु आर्थिक वर्षमा विद्युत विस्तारका लागि नगरपालिका र वडा कार्यालयसँग पहल भइरहेको स्थानीय बासिन्दाले बताएका छन् । सन् २००० तिरै पर्यटकीय बजारहरुमा विद्युतीकरणका लागि गोरखा वेल्फेयर सर्भिसले होली काँदुरीमार्फत जलविद्युत आयोजना र खानेपानी आयोजना बनाएको थियो ।

तर मुहान नै सुक्दै जानथालेपछि अहिले यो मुहानको खानेपानीले बजार बासिन्दालाई पुग्दैन । विद्युतका लागि समेत पाँच वर्ष यता हिउँदमा निकै समस्या आइरहेको छ । बजार बासिन्दाले केन्द्रीय प्रशारण लाइनको विद्युत यथासीघ्र जडान गरिदिन माग गरेका छन् ।