काठमाडौं । नेपाली कांग्रेसका नेताद्वय विजय कुमार गच्छदार र अमरेश कुमार सिंहले धाँधली गरेर निर्वाचनमा जित हासिल गरेको दाबीसहित मतपरिणाम बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

सुनसरी क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका तर्फबाट उमेदवार रहेकी भगवती चौधरीले निर्वाचन आयोगसमेत ४ जनाविरुद्ध रिट निवेदन दिएकी छन् ।

रिट निवेदनमा उजुरी पत्रको अन्तिम किनारा गर्न समय लाग्ने भएकाले सो समयसम्म संविधान कानुन र निर्वाचन सम्बन्धी सर्वमान्य सिद्धान्त समेतको प्रतिकुल हुने गरी भए गरिएको गैरकानुनी मतगणनाबाट निस्केको परिणामले प्रश्रय नपाउन भन्नका लागि विपक्षी विजय कुमार गच्छदारलाई प्रतिनिधि सभाको सदस्यको सपथ ग्रहण नगराउनु, संघीय संसद्को पदधारण गरी कामकाज गर्न नदिनु भन्ने आदेश माग गरिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता नारायण प्रसाद पन्थीका अनुसार उजुरीमा निर्वाचन परिणामको प्रक्रिया नमिलेका कारण पुनः मतगणनाको माग गरिएको छ । त्यसैगरी राजपाका नेता राकेशकुमार मिश्रले पनि निर्वाचन आयोगसमेतलाई विपक्षी बनाई रिट दायर गरेका छन् ।

उनले पनि पुनः मतगणनाको माग गर्दै रिट दायर गरेका हुन् ।