विराटनगर । सिटि रिक्सा चालकहरुले सहमती विपरित ट्राफिक प्रहरीले दुःख दिएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी संयुक्त सिटि सपारी चालक संघले सहमतीको उल्लङ्घन गरे कडा आन्दोलन गर्ने चेतावनी दिएको हो ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष महेन्द्रप्रसाद श्रेष्ठले विराटनगर महानगरपालिका र सिटि सफारी सञ्चालक बिच भएको छलफलबाट मुख्य राजमार्गमा एकतर्फी सफारी सञ्चालन गर्न पाउने सहमती भएपनि ट्राफिक प्रहरीहरुले थाहा नभएको भन्दै आफुहरुलाइ दुःख दिने गरेको गुनासो गरे ।
चालकहरुले सिटि सफारी दर्ता बापत संकलन भएको ४९ लाख ८६ हजार राजस्व सार्वजनिक गरी सिटि सफारीको क्षेत्रमा लगानी गर्नु पर्ने, सिटी सफारीलाई चार्जीङ स्टेशनको व्यावस्था गर्नु पर्ने, सडक मर्मत गर्नु पर्ने, बन्दै गरेको ६ लेन सडकमा एक लेन सिटी सफारीकालागि छुट्याउन माग गरेका छन् ।
ट्राफिक प्रहरीले मुख्य सडकमा सफारीलाई प्रवेशमा रोक लगाएपछि सवारी चालकहरु आन्दोलनमा उत्रिए पनि महानगरपालिकाका मेयर भीम पराजुली , जिल्ला ट्राफिक प्रहरी प्रमुख मदन गिरि सहितको छलफलले राजमार्गमा उकतर्फी सफारी चलाउन पाउने सहमति भएको थियो । वरगाछी उत्तर दुई तर्फी नै सफारी सञ्चालन गर्ने अनुमती पाएका चालकले बरगाछी देखि रोडशेष चोक सम्म एकतर्फी मात्र सञ्चालन गर्न अनुमती पाएका हुन् । त्यस्तै रोडशेष चोक देखि रानी जोगवनी सम्म पनि एक तर्फी मात्र सञ्चालन गर्न पाउने भएका छन् । रोडशेष चोक देखि जोगवनी सम्म जादा राजमार्ग र फर्कदा भित्री सडक प्रयोग गर्नु पर्ने सहमती भएको हो ।