दाङ । गत मंसिर २१ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भोट हाल्न गएका तुलसीपुर उपमहानगरपालिका- १६ भेलाहीका ५० वर्षका चेतनाथ भण्डारी मंगलबार मृत भेटिएका छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार भण्डारी स्थानीय एक कुलामा मृत भेटिएका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार भण्डारीले मंसिर २१ गते लहरौरास्थित लक्षणपुरबाट मतदान गरेका थिए।
मतदान गरेपश्चात् उनी घर फर्कंदै गर्दा भण्डारीको हत्या भएको हुनसक्ने भन्दै अनुसन्धान गर्न आफन्तले माग गरेका छन्। भण्डारी बेपत्ता भएको लामो समय बितिसक्दासमेत पत्ता नलागेपछि मंगलबार बिहान प्रहरी र स्थानीयले खोज्ने क्रममा भण्डारी भेलाहीस्थित एउटा कुलोको झाडी नजिकै मृत अवस्थामा फेलापरेका थिए।
स्थानीयले भने यसअघि नै उक्त कुलो र स्थानमा आफूहरूले खोजी गर्दा केही फेला नपर्नु र आज फेरि त्यही स्थानमा शव फेला पर्नु आश्चर्यजनक भएको बताएका छन्।