नायक दयाहाङ राई अभिनीत फिल्महरु प्रायः पर्दामा आइरहन्छन् । कहिले त हप्ता समेत कट्दैनन् । 'लुट'मा निर्वाह गरेको 'गोफ्ले' क्यारेक्टरलाई दर्शकले अत्याधिक रुचाएपछि उनको माग र चर्चा ह्वात्तै बढ्यो । अहिले उनी नेपालका सबैभन्दा व्यस्त नायकमध्येका एक हुन् । तर, किन बक्स अफिसमा उनका फिल्मले पानी समेत भन्न पाउँदैनन् ? यो प्रश्नले स्वयं दया आफैंलाई सताइरहेको छ ।

दर्शकको दयामाथी आरोप पनि छ कि उनी कथा छनौट गर्न जान्दैनन् । यस विषयमा दयाहाङ भन्छन्, ‘कथा छनौट गर्न नसकेको आरोप मलाई मात्र होइन धेरै कलाकारलाई लाग्दै आइरहेको छ । सायद मेरो हकमा पनि यो धेरै लागू भएको हुनसक्छ । तर, म सधै आफूले पाएको भूमिकालाई न्यायपूर्वक निर्वाह गर्न तल्लिन हुन्छु ।’ उनले केही फिल्म आफूले पैसाका लागि पनि गरेको खुलासा गरे । ‘धेरै त भन्दिनँ तर केही फिल्म भने मैले पैसाका लागि पनि गरेको छु ।’, दया भन्छन् ।

मंगलवार फिल्म ‘मिस्टर झोले’को विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा नायक दयाहाङले ‘झोले’को सिक्वेल ‘मिस्टर झोले’ नभएको बताए । उनले भने, ‘‘मिस्टर झोले’, ‘झोले’भन्दा विल्कुलै फरक छ । तर, बजारमा ‘मिस्टर झोले’, 'कबड्डी'को तेस्रो सिक्वेल भन्ने जसरी चर्चा चलेको छ त्यो विल्कुलै गलत हो । हो, यस फिल्ममा प्रायः 'कबड्डी'को नै टीम छ । त्यसैले पनि कतै ‘मिस्टर झोले’, 'कबड्डी'को सिक्वेल त होइन भन्ने लाग्न सक्छ । बाहिरको रंग उस्तै लागेपनि ‘मिस्टर झोले’को प्रस्तुती र कथा फरक छ ।’ उनी  फिल्मलाई दर्शकले रुचाउनेमा ढुक्क देखिन्छन् ।

‘मिस्टर झोले’को बक्स अफिस कलेक्सनले तपाईको फिल्मी करिअरलाई चाहीँ कति अर्थ राख्छ ? भन्ने पत्रकारको प्रश्नमा दयाहाङ अगाडि भन्छन्, ‘म कहिले पनि बक्स अफिसमा फिल्म सफल हुनु पर्छ भनेर काम गर्दिन । सधै दर्शकलाई एउटा राम्रो प्रोडक्ट दिनुपर्छ भन्ने मलाई लाग्छ । बक्स अफिसमा फिल्म हिट भयो भने त्यसले निर्मातासँगै मलाई पनि ठूलो राहत त दिन्छ तर कलाकारका लागि फिल्म हिट हुनु वा नहुनुले खासै ठूलो अर्थ राख्छ जस्तो चाहीँ मलाई लाग्दैन ।’

फिल्मका निर्माता टेकेन खड्काले ‘मिस्टर झोले’लाई ‘झोले’को सिक्वेल बनाउन चाहेपनि आफ्नो इच्छा अधुरै रहेको बताए । उनी भन्छन्, ‘मेरो चाहना त ‘झोले’को सिक्वेल नै निर्माण गर्ने थियो तर कथा लेख्दै गर्दा बेग्लै बन्न पुग्यो ।’ यस्तै, फिल्मका कार्यकारी निर्माता रौनक बिक्रम कँडेलले ‘मिस्टर झोले’ पूर्ण मनोरञ्जन दिने शैलीको फिल्म बनेको दाबी गरे । यो फिल्म पुष २८ गतेबाट प्रदर्शनमा आउँदैछ ।

टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा ‘मिस्टर झोले’ निर्माण गरेको हो । यो फिल्मलाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् । 'कबड्डी', 'कबड्डी कबड्डी', 'पुरानो डुंगा' फिल्मका निर्देशक रामबाबु गुरुङ निर्देशित यो फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।