काठमाडौं– ग्यास बिक्रीमा पाउने कमिसन रकम बढाउन माग गर्दै ग्यास बिक्रेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । बजारमा महंगी र दैनिक उपभोग्य वस्तुको मूल्य बढे पनि चार वर्षदेखि ग्यास बेचेबापतको कमिसन रकम नबढेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै रकम नबढाए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेपाल ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्याल नेतृत्वको टोलीले आइतबार देउवालाई भेटेर कमिसन रकम एक सय रुपैयाँ पुर्याउन माग गरेका हुन् । ‘अहिले पाउँदै आएको ३२ रुपैयाँ कमिसनलाई बढाएर एक सय रुपैयाँ पु¥याउनु पर्छ,’ अध्यक्ष अर्यालले भने, ‘सरकारले माग वेवास्ता गरे आँफै कमिसन रकम थप गरेर बिक्री गर्छौं ।’

कमिसनको ३२ रुपैयाँमा चार रुपैयाँ सरकारलाई नै भ्याट बुझाउनुपर्ने हुँदा ग्यास बिक्रेता मारमा परेको जानकारी गराएका थिए । अहिले ग्यास प्रतिसिलिन्डर १३ सय ७५ रुपैयाँमा बिक्री हुन्छ । सो रकमबाट आयल निगमले ३२ रुपैयाँ कमिसन दिन उद्योगीलाई तोकेको छ । त्यसकै आधारमा ग्यास उद्योगीले बिक्रेतालाई कमिसन रकम दिन्छन् ।

कमिसन बढाउने प्रधानमन्त्री सकरात्मक रहेको व्यवसायीले बताएका छन् । देउवाले सम्बन्धित आपूर्ति मन्त्रालयमार्फत प्रस्ताव ल्याएर कमिसन बढाउन पहल गर्ने बताएका थिए । ‘प्रधानमन्त्रीले कमिसनबारे गम्भिरता देखाउनु भएको छ,’ अर्यालले भने, ‘माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।