गाईघाट/ उदयपुरको पश्चिमी क्षेत्रका स्थानीयले राहदानी बनाउन ७ घण्टा लगाएर जिल्ला धाउनुपर्ने बाध्यता टरेको छ। कटारी क्षेत्रका स्थानीयले सोमबारदेखि इलाका प्रशासन कार्यालय कटारीबाटै राहदानी दिने व्यवस्था मिलेपछि स्थानीयलाई सहज भएको हो।

राज्य पुर्नसंरचनासँगै अधिकार गाउँ तहसम्म पुगेको भनिए पनि सर्वसाधरणले सेवाको महशुस गर्न नपाएको गुनासो गर्न थालेपछि प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेँलले राहदानीका लागि अग्रसरता देखाएका हुन्। प्रजिअ कणेँलकाअनुसार कटारी नगरपालिका, ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिका स्थानीयले राहदानीका लागि ठूलो कष्ट भोग्नु परेकोले इलाका प्रशासनलाई नै अधिकार प्रत्यायोजन गरिएको हो। ‘कटारीबाट राहदानी बनाउनको लागि दैनिक ६–७ घण्टाको यात्रामा गाईघाट आउनुपर्ने बाध्यता थियो,’ उनले भने, जनताको त्यो दुख देखेरै यस्तो व्यवस्था गरिएको हो, राहदानी बनाउनकै लागि अब सदरमुकाम धाउनु पर्दैन।’

कटारीबाटै राहदानी वितरण गर्नका लागि संकलित राजश्व संकलनका लागि राष्ट्रिय वाणिज्य बैंक कटारीलाई कोष लेखा नियन्त्रक कार्यालयको पहलमा महालेखा परिक्षकले कोड उपलब्ध गराइएको जनाइएको छ।

प्रजिअ कणेंलले भने ‘हामीलाई अधिकार प्रत्यायोजन गर्न त समस्या थिएन तर राजस्व दाखिला गर्न महालेखा नियन्त्रकको कार्यालयले तोकेको बैक गाईघाटमा मात्र भएकाले कटारीको बैकलाई अधिकार दिन प्रयात्न गर्दा केही ढिलो भएको हो।’

सबै प्रक्रिया पुर्याएर सोमबारबाटै राहदानी वितरणको लागि फर्म संकलन सुरु गरिएको इलाका प्रशासन कार्यालयका प्रमुख सुनिल पौड्यालले बताए। ‘महालेखा नियन्त्रक कार्यालयबाट राष्टिय बाणिज्य बैक कटारीमा राजस्व दाखिला गर्न अनुमती प्राप्त भएसँगै फारम संकलन सुरु गरिएको छ।’ पौडलेले भने ‘जिल्ला प्रशासन कार्यालय र कोष लेखा नियन्त्रक कार्यालयको पहलमा कटारीबाटै राहदानी पाउने व्यवस्था भएको छ।’

कटारीबाट राहदानी वितरण सुरु भएपछि साविकको नागरिकताको सेवा पाइरहेका कटारी नगरपालिका, ताप्लि गाउँपालिकाको साविकको इनामे गाविस बाहेक र उदयपुरगढी गाउँपालिकाको साविकको तावाश्री र बर्रे गाविसका सेवाग्राहीहरुलाई सहज हुने भएको छ।

यसअघि कटारीबाट राहदानी जारी नहुँदा कटारीबाट सिफारिस लिई जिल्ला प्रशासन कार्यालय गाईघाट र राहदानी विभाग काठमाडौं जानुपर्ने बाध्यता थियो।

अन्नपूर्णपाेष्टबाट