काठमाडौँ/ पक्राउ गरेपछि पनि अनसनलाई जारी राखेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई प्रहरीले उपचारका लागि वीर अस्पताल पुर्याएको छ ।  अदालतको मानहानीको आरोप लागेका उनलाई सर्वोच्चमा बयान सकिएपछि प्रहरीले वीर अस्पताल पुर्याएको हो । उनको अस्पतालको क्याबिनमा राखेर उपचार सुरु गरिएको छ ।

केसीले आजै अदालतमा बयान दिएका थिए । सिंहदरबार हिरासतमा रहेका केसीलाई बयानका लागि प्रहरीले बिहान १० नबच्दै सर्वोच्च अदालत पुर्याएको थियो ।  आज बयानमात्रै सकिएकाले भोलि बहस हुने छ । भोलि बिहान १० बजेको लागि बहसको इजलास तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय आइओएमको डीनलाई सर्वोच्चले पुनर्बहाली गरिदिएपछि त्यसलाई चुनौति दिँदै केसी अनसनमा बसेका थिए । उनले प्रधानन्यायाधीश गोपाल पराजुलीले भ्रष्टाचार गरेको आरोप समेत लगाएका थिए । उनले फैसलाविरुद्ध अभिव्यक्ति दिँदै असनसन थालेपछि सर्वोच्चले उनलाई पक्राउ गर्न आदेश दिएका थियो । आदेश लगत्तै सोमबार साँझ प्रहरीले शिक्षण अस्पतालबाट पक्राउ गरेको थियो ।