भद्रपुर । झापामा जंगली हात्तीको उपद्रो निरन्तर रहेको छ । हात्तीले भद्रपुरमा चार वटा घरमा क्षति पुर्याउनुका साथै अन्नवाली नष्ट गरिदिएको छ । पाँच वटा जंगली हात्तीको समूहले बुधवार विहान भद्रपुर ४ पृथ्वीनगरका लीलाथापा लिम्बुको पक्की घरको झ्याल, टिनको छाना, गाईगोठ भत्किाइ दिनुका साथै अन्नवाली नष्ट गरिदिएको छ । त्यसैगरी सोहि वडाका भीम लिम्बुको ३० मन धान नष्ट गरी मानबहादुर राईको चित्राले बनाएको घर भत्काइदिएको छ, भने भद्रपुर ३ का नन्दबहादुर आचार्यको भन्साघर र धानसहितको भकारी भत्काइदिएको छ । जंगली हात्तीले गाँउघरमा प्रवेश गरेर उपद्रो मचाउन थालेपछि गाँउबासी पिडामा परेका छन् । हात्ती नियन्त्रणका लागि सम्बन्धित निकायले हाल सम्म कुनै काम सुरु नगर्दा जंगल आसपासका स्थानीयमा त्रास छाएको पीडित नन्दबहादुर आचार्यले बताए । हात्तीको समूहले नगरक्षेत्रको घरमा क्षति पुर्याउनुका साथै अन्य केही स्थानीयको पर्खाल र खेतबारी नष्ट गर्दा करिब १ लाख ५० हजार मुल्य बराबरको क्षति भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । देउनिया खोला छेऊको जंगलमा बस्दै आएका हात्तीले सो क्षेत्रमा दिनहुँ आतंक मचाउन थालेको स्थानीयको भनाइ छ ।