तस्बिरः उपेन्द्र चाम्लिङ
धरान । धरानमा करिव ४ करोड रुपैया बराबरको तरुलको कारोबार भएको छ । यो गतवर्ष भन्दा २० प्रतिशतले कारोबार बढेको हो । कृषि उपज बजार स्थलका अनुसार ३ करोड ८० लाख रुपैयाको तरुलको कारोबार भएको हो । तरुल खाने पर्वको रुपमा मनाइने माघे संक्रान्तीमा तरुलको कारोबार ह्वात्तै बढ्ने गरेको छ । मौसम अनूकुलताका कारण यसवर्ष उत्पादनसमेत वृद्धि भएको बजार स्थलले जनाएको छ । बजारमा वन तरुल, घर तरुल, स्कुसको जरा, सखरखण्ड किन्नेहरुको घुइचो लागेको छ । यसपटक वन तरुलको मूल्य गतवर्षको तुलनामा दोब्बर वृद्धि भएको कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । गतवर्ष वन तरुलको मूल्य ११० रुपैया प्रतिकेजी थोक मूल्य रहेको थियो भने यो वर्ष २ सयले बिक्री भइरहेको छ । त्यस्तै स्कुसको जरा १२० रुपैया प्रतिकेजी थोक मूल्य रहेको छ । अन्य तरुलहरु भने ६० देखि ७० रुपैया प्रतिकेजीमा बिक्री भइरहेको व्यवस्थापक भट्टराईले जानकारी दिए । खुद्रा मूल्य भने प्रतिकेजी २० रुपैयादेखि माथि रहेको छ । खुद्रा व्यापारी लक्ष्मण रायले थोकमा नै खरिद मूल्य महंगो भएको बताउँछन् । उपभोक्ता कमला देवानले गतवर्षको तुलनामा यो पटक तरुलको मूल्य दोब्बर नै बढेको गुनासो गरिन् । उनले भनिन्, ‘गतवर्ष भन्दा त धेरै मंहगो प¥यो ।’ आर्थिक वर्ष २०७२÷०७३ मा ४५३ मेट्रिक टन तरुल बिक्री भएको थियो । जसको बजार मूल्य २ करोड २६ लाख रुपैया रहेको थियो । त्यस्तै २०७३÷०७४ मा ४९७ मेट्रिक टन बिक्री भएको थियो । जसको बजार मूल्य २ करोड ८७ रुपैया रहेको कृषि उपजले जनाएको छ । चालु आर्थिक वर्षमा ५०९ मेट्रिक टन कारोबार भएको छ । जसको बजार मूल्य ३ करोड ८० लाख रुपैया रहेको छ । विशेष गरी तरुलजन्य सामग्रीहरु पहाडी जिल्लाहरुबाट भित्रिने गरेको छ । अधिकांस तरुलहरु धनकुटा जिल्लाबाट भित्रिने गरेको छ । यहाँबाट छिमेकी जिल्लाका शहरहरुमा बिक्री हुने गरेको छ । धरानको कृषि उपज बाट मात्रै ४ करोडको कारोबार हुने अनुमान गरिएको व्यवस्थापक भट्टराईले जानकारी दिए । माघे संक्रान्तिलाई लक्षित गर्दै उपभोक्ताहरुले तरुलजन्य चिजहरु खरिद गर्ने गरेका छन् । माघे संक्रान्तिको यो ५ दिनमा दैनिक ५० टन कारोबार भइरहेको छ । माघे संक्रान्तिका दिन तरुल खानै पर्ने भन्ने बुझाई रहेका कारण पनि तरुलको माग बढेको हो । माघे संक्रान्तीलाई मकर संक्रान्तिको रुपमा पनि चिनिन्छ । बिहानै खोलामा मकर नुहाउँदै पकवानको रुपमा रहेको तरुलजन्य चिज खाएर माघे संक्रान्ति मनाउने गरिएको छ ।