विराटनगर । मोरङको मोरङको ग्रामथान गाउँपालिकामा बिहीबार दिउँसो बम विष्फोटनमा परी एक जना घाइते भएका छन् । अज्ञात समूहले ग्रामथान ६ खोरियाटोलका दुर्गाबहादुर रोक्काको खेतको बीचमा लुकाएर राखेको बम विष्फोट हुँदा उनका छोरा १८ वर्षीय एकराज रोक्का गम्भीर घाइतेमा परेको मोरङ प्रहरीले जनाएको छ । घाइतेको अनुहार र मुखमा चोट लाग्नुका साथै अगाडिका दुईवटा दाँत भाँचिएका परीवारको भनाई छ । उनको विराटनगर स्थित नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार खेतमा तोरी उखेल्दै गर्दा एकराजले टिनको बट्टामा टेपले बाँधेको अवस्थामा शंकास्पद वस्तु फेला पारेको थिए । बट्टामा बाँधेको वस्तु खोलेर हेर्ने क्रममा विष्फोट भएको प्रहरीले जनाएको छ । एकराजसंगै अन्य चार जना पनि तोरी उलेल्ने काम गरिरहेका थिए । प्रहरीका अनुसार विष्फोटमा परेर घाइते भएपछि काम गरिरहेका अन्यले उपचारका लागि उनलाई अस्पताल पु¥याएका थिए । हातले बनाइएको आईडी (एम्प्रोभाईज एक्सप्लोसिभ डिभाई) नामक बम विष्फोट भएको प्रहरीले जनाएको छ । घटनास्थलमा अन्य दुईवटा बम पनि फेला परेका थिए । बमलाई मोरङको थलाहाबाट पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले दिउँसो २ बजे डिस्पोज गरेर अन्य क्षति हुनबाट जोगाएको छ ।